नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गामा जिल्ला वालभेला सुरु, जिशिअले माफी मागे

ओखलढुङ्गा, असार ३

ओखलढुङ्गामा शनिवार आजवाट दुई दिने जिल्ला बाल भेला कार्यक्रम सुरु भएको छ । बालविवाहलाई शुन्यमा झार्ने मूल उद्देश्य सहित जिल्ला बाल भेला आजवाट सुरु भएको हो ।

वालभेलामा उपस्थित भएका वालवालिकाहरुले उद्घाटन शत्रमा वालवालिकाहरुले गाँउ स्तरमा भोग्नु परेका समस्याहरुको बारेमा कुरा उठान गरेका थिए । वालवालिकाको चेतना तथा क्षमतामा अभिबृद्धि गर्ने उद्देश्यले नेपाल सरकारले पनि प्रत्येक वर्ष गाँउमा जाने विकास निर्माणका बजेटहरुसगै कुल बजेटको १० प्रतिशत वालवालिकाको क्षेत्रमा अनिवार्य विनियोजन गर्नु पर्ने व्यबस्था समेत गरेको छ । नेपाल सरकारले त्यस विषयलाई अनिवार्य गरेपनि जिल्लाका धेरै स्थानहरुमा अहिले पनि त्यो विषयलाई कागजी रुपमा मात्रै सिमित गर्ने गरिरहेको पाईन्छ ।

भेलामा उनीहरुले गाँउ स्तरमा वाल क्लव गठन भएर काम गरिरहदा पनि विद्यालयमा, समाजमा वालवालिकाको कुराहरुलाई वेवास्ता गरिरहेको गुनासो गरेका थिए । मिलीजुली वाल क्वब पलापुकी अध्यक्ष अमृता सुनुवारले गाउमा वालक्लव गठन भएपछि र आफुहरुले वालवालिकाको चेतना तथा क्षमता विकास सम्बन्धि जनचेतना मुलक विविध कार्यक्रम सञ्चालन गरेपछि धेरै परिवर्तन आएको वताईन । वालक्लवकै अगुवाईमा सञ्चालन भएको कार्यक्रमका कारण अहिले जिल्लाको धेरै वालविवाह हुने गाविस भनेर चिनिएको पलापुमा ८० प्रतिशत भन्दा बढिले वालविवाह रोकिएको वताइन् ।

त्यस्तै नवउन्नतिशिल वालक्लव सञ्जाल रगनीकी रमिला नेपालले बालक भन्दा पनि बालिकाहरु बढि समस्या र दुव्र्यवहारमा परेको वताईन् । ग्रामिण क्षेत्रका बालिकाहरु अलिक बोल्न लजाउने, डराउने भएको कारणले समस्यामा पर्ने गरेको वताईन् । विगतमा आफुहरुले भनेको कुराहरु आफ्नै अविभावकहरुले नपत्याउने गरेकोमा अहिले भने वालवालिकाको क्षेत्रमा केही काम तथा निर्णयहरु गर्नुपर्ने भएमा सहभागी गराउने गरेको भन्दै खुशी व्यक्त गरिन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल, स्थानिय विकास अधिकारी यमलाल अधिकारी, जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाई, प्रहरी नायव उपरिक्षक डिएसपी मिलन केसी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

शुभकामना मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी दाहालले वालक्लवको भेलामा उपस्थित सबै वालवालिका जिल्लाको सुन्दर मुहार भएको बताउनुभयो । “वालवालिकाहरु प्रतिनिधी पात्र सगै जिल्लाको सुन्दर मुहार हुन् । त्यसैले जिल्लाका हरेक भागमा हुने कृयाकलापहरुमा उनीहरुको सहभागीता हुनु आवश्यक छ । वालवालिकाको हरेक समस्या र आवश्यक छलफल गर्नुपर्ने भएमा आफु सदैव तयार छु,” प्रजिअ दाहालले भन्नुभयो ।

जिशिअ चापागाँईले मागे माफी

वालवालिकाले जिल्ला भेला भैरहेको स्थानमा सरकारी ओहदाका उच्च पदाधिकारीवाटै आफुहरुले पढ्न पाउनुपर्ने हकवाट वञ्चित भएको बताएपछि जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईले माफी माग्नु भएको छ । विद्यालय सञ्चालन भएको दुई महिना वितिसक्दा पनि विद्यार्थीहरुले पुस्तक नपाएको भन्ने गुनासो आउनुमा आफु पनि जिम्मेवार भएको भन्दै उहाँले माफी माग्नु भएको हो ।

जिशिअ चापागाँइले भन्नुभयो,“विद्यार्थीले समयमा नै पुस्तक प्राप्त गरुन भनेर गत चैतमा नै रकम निकासा गरिसकिएको छ । विद्यालयको तथ्यांक अनुसार छात्रबृति पनि निकासा गराई सकिएको छ । रकम निकासा भयो भनेर ढुक्क परिरहेको अवस्थामा अहिले सम्म पुस्तक नपाएको भन्ने गुनासो आयो । अनुगमन नगर्नु मेरो कमजोरी रह्यो । त्यसैले म माफी चाहन्छु । अब तत्कालै त्यो विषयमा सम्बन्धित विद्यालय र प्रअसग बुझि आवश्यक कार्वाही प्रकृया अघि बढाउछु ।”

भुकम्प पछाडी लामो समयसम्म पनि विद्यालयको भौतिक पूर्वाधार उचित मर्मत नभएको, नयाँ शैक्षिक सत्र सुरु भएको दुई वर्ष वितिसक्दा पनि आफुहरुले पुस्तक नपाएको, पढाउन छाडेर शिक्षकहरु भोटमाग्न हिडेको लगायतका विषयमा बालबालिकाहरुले गुनासो गरेका थिए ।

जिल्ला वालक्लव सञ्जालकी अध्यक्ष सरस्वती वानियाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । जिल्ला वालभेला जिल्ला समन्वय समिति ओखलढुङ्गाको सहयोगमा, महिला तथा वालवालिका कार्यालय ओखलढुङ्गाको आयोजनामा सञ्चालन भैरहेको छ ।

बालभेलामा जिल्लाभरका ३५ओटा वालक्लब गाँउसञ्जाल, १ नगरपालिका बालक्लव सञ्जाल र १ बालक्लव जिल्ला सञ्जाल गरी ४४ जना प्रतिनिधीहरुले सहभागिता जनाईरहेका छन् । भेलामा तिनओटा कार्यपत्रमाथि छलफल हुने र त्यसपछि समूहमा छलफल गर्दै आगामी वर्षका लागि कार्यक्रम योजना निर्माण गर्दै भेला सकिने महिला तथा वालवालिका कार्यालयका सुचना अधिकारी सरिता तामाङ्गले जानकारी दिनुभयो । भेला आईतवार सम्म चल्नेछ ।