नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

ओखलढुङ्गा एमालेको प्रतिबद्धतापत्र सार्वजनिक

ओखलढुंगा, जेठ २८ ।
नेकपा एमाले ओखलढुङ्गाले स्थानीय तह निर्वाचनका लागि स्थानीय तहको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । एमालेले ओखलढुंगाका ७ गाउँपालिका र १ नगरपालिकासहित ८ स्थानीय तहका लागि आगामी ५ वर्षे योजना सार्वजनिक गरेको हो । प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, शहरीकरण तथा औद्योगिकरणलाई जोड दिइएको छ । एमालेले जिल्लाको विकासलाई “खानेपानी, सिंचाई, पर्यटन र कृषि, विद्युतीकरण र औद्योगिकरण ओखलढुंगाको समृद्धि” भन्ने नाराले समेटेको छ ।

के छन् विकासका एजेण्डामा ?
एमालेले आफ्नो प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पुननिर्माण, उर्जा तथा विद्युतीकरण, सिचाइर खानेपानी, प्रेस तथा संचार, वस्ती विकास र शहरीकरण लगायतका विषयमा पाँच वर्षमा देखिने विकासका सुचक उल्लेख गरेको छ । एमालेले पाँच वर्षमा समृद्ध ओखलढुंगा बन्ने सुचक समेत उल्लेख गरेको छ ।

प्रत्येक घर परिवारमा स्वच्छ खानेपानी, शौचालय र फोहर व्यवस्थापन ३० वटा वाल उद्यान, १५ वटा पार्क र २५ वटा खेल मैदान, जिल्लाका सबै कार्यालयहरुमा शुन्य भ्रष्टचार, हरेक तहमा कम्तिमा एक वैंकको शाखा, प्रत्येक वडामा कम्तिमा एउटा सहकारी, वार्ड वार्ड र टोल टोलमा सडक सञ्जाल, खानी तथा खनीज उत्खनन् कार्यको प्रारम्भ, उज्यालो वस्ती, सुकुम्वासी समस्याको व्यवस्थापन एमालेका सुचक रहेका छन् ।

यीनै सुचकका आधारमा एमालेले स्थानीय तहको निर्वाचनमा आफ्नो बिस्तृत कार्ययोजना नै प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । एमालेले कुन सूचक कुन वर्षमा पुरा हुन्छ भन्ने किटान नगरे पनि पाँच वर्षमा परिकल्पना पुरा हुने एमाले जिल्ला उपाध्यक्ष नेत्रप्रसाद भट्राईले जानकारी दिनुभयो ।

त्यस्तै एक गाँउपालिका एक स्मार्ट सिटीको अवधारणा पनि एमालेले अघि सारेको छ । उसले एक घर एकधारा, सिंचाई र विद्युतीकरण पहिलो चरणमा कार्यन्वयन गरिने जनाएको छ भने कृषिमा आधुनिकीकरण, उर्जा र पर्यटन आर्थिक समृद्धिका मेरुदण्ड भनेको छ । यसका आधारमा सबै गाउँपालिका र नगर क्षेत्रको सन्तुलित विकासका लागि स्थानीय तह अनुसार फरक फरक प्रतिबद्धता पत्र उम्मेदवारहरुले तय गरेको पनि एमाले ओखलढुंगाले जनाएको छ ।