नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

कांग्रेस सभापती देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित

सानो मन्त्रीमण्डल सहित आज सपथ ग्रहण गर्ने

काठमाडौं, जेठ २४।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । गणतान्त्रिक नेपालको उनी नवौं प्रधानमन्त्री हुन् । देउवा प्रधानमन्त्री बनेको यो चौथोपटक हो ।

मंगलबारको संसद बैठकमा उपस्थित कुल ५५८ सांसदहरुमध्ये देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको थियो ।देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए ।

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज बुधवार दिउसो २ बजे सपथ ग्रहण गर्ने भएका छन् । शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनेछिन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद् मिनबहादुर विश्वयकर्माका अनुसार देउवासँगै भोली नै नवगठित मन्त्रिपरिषद्का ७ मन्त्रीहरुले सपथ लिनेछन् । सत्तारुढ दलहरुबीच भएको सहमति अनुसार कांग्रेसको भागमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्रालयसहित ३ मन्त्रालय परेको छ। त्यस्तै माओवादी केन्द्रको भागमा गृह र उर्जासहित ३ मन्त्रालय परेको छ ।

नेपाल लोकतान्त्रिक फोरमबाट पार्टी अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानमन्त्री बनेर सरकारमा सहभागी हुनेछन् । पहिलो चरणमा प्रधानमन्त्रीसँगै ७ मन्त्रीहरुले सपथ लिएपछि सरकार क्रमश बिस्तार हुँदै जानेछ।