नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

,

बैशाख १९

बैशाख ३१ मा हुन लागेको स्थानीय तह निर्वाचनलाई लिएर राजनितीक पार्टीहरुमा कायम आंशकाकै बीचमा मंगलबार आज देशभर पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । राजनितीक पार्टीहरुले अधिकांश स्थानीय तहमा उम्मेदवारसमेत टुंग्याइसेकेको बताएका छन् भने बाँकी पनि मंगलबार बिहानसम्म टुंग्याइसक्ने कसरतमा रहेकाछन् । आजको मनोनयन दर्तासँगै पहिलो चरणको चुनावी कार्यक्रम सुरु हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले उम्मेदवारी मनोनयनसँगै निर्वाचनका बारेमा उठेका शंका/उपशंका, द्विविधा र हल्ला हटेर जाने विश्वास व्यक्त गरेका छन् । यादवले उम्मेदवारी दर्ताका लागि मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्मको समय तोकिएको जानकारी दिए । उनले निर्वाचनका पूर्वनिर्धारित कार्यक्रममा कुनै फेरबदल नहुने दृढतासमेत व्यक्त गरेका छन् ।

देशभरका कुल ७ सय ४४ स्थानीय तहमध्ये पहिलो चरणमा वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ५ नम्बर प्रदशका ३४ जिल्लाअन्तर्गत २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । बाँकी ४ प्रदेशका स्थानीय तहमा दोस्रो चरणलाई भने जेठ १९ गतेबाट चुनावी कार्यक्रम तोकिएको छ। वैशाख ३१ मा देशभरका लागि एकै दिन घोषित निर्वाचन कार्यक्रम सरकारले वैशाख १० गते दुई चरणमा गर्ने निर्णय लिएको थियो ।

संविधान संशोधन र स्थानीय तहको संख्या थपी मधेसी मोर्चालाई समेत निर्वाचनमा सहभागी गराउने उद्देश्यले तराईका जिल्लाहरूसहित चारवटा प्रदेशका ४३ जिल्लाको निर्वाचन कार्यक्रम दोस्रो चरणमा सारिएको हो । तराईका २० जिल्लामध्ये चितवनमात्र पहिलो चरणमा परेको छ ।