विश्व पब्जीमा नेपाली टीम नवौं, जित्यो डेढ करोड
ओखलढुङ्गान्युज, साउन १९ काठमाण्डौं । साउदी अरेबियामा जारी इस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नेपाली पब्जी टीम होरा स्पोर्टसले डेढ करोड बढी पुरस्कार जितेको छ । फाइनलको अन्तिम दिनको अन्तिम खेलमा चिकन डिनर जितेको होराले समग्रमा १८ खेलमा १०० अंक प्राप्त गर्दै नवौं मात्र बन्न सफल भएको हो ।
फाईनलको अन्तिम खेल सकिएसँगै होराले ग्रुप स्टेजको २७ हजार ५०० डलर, सर्भाइभल स्टेजको २५ हजार डलर, शो म्याचको १५ हजार डलर र फाइनलको नवौं स्थानको ६० हजार डलर गरी कुल १ लाख २७ हजार ५०० अमेरिकी डलर पुरस्कार जितेको छ । यो रकम विदेशी मुद्राको आईतबारको विनिमय दर अनुसार १ करोड ७८ लाख ९७ हजार १७५ नेपाली रुपैयाँ हुन आउँछ ।
गत शुक्रबारदेखि आइतबारसम्म भएको लिग स्टेजको खेलमा होरा इस्पोर्ट्स समग्रमा १३औं भएपछि सिधै ग्राण्ड फाइनलमा पुग्न सकेको थिएन । लिग चरणमा शीर्ष ८ मा नपरेपछि सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गरेको होरा सर्भाइभल स्टेज जितेर फाइनलमा पुगेको थियो । पब्जी मोबाइल विश्वकपको उपाधि भने म्यानमारको वाइजी इस्पोर्ट्सले जित्यो ।