नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

युद्धविरामको आह्वानलाई खारेज गर्दै गाजामा ईजरायलको भिषण आक्रमण

ओखलढुङ्गान्युज, कातिक १२ । मानवीय सहायतका लागि संयुक्त राष्ट्रसंघले गरेको युद्धविरामको आह्वानलाई खारेज गर्दै इजरायलले गाजापट्टीमा आक्रमणलाई अझै सशक्त बनाएको छ । अहिले इजरायलले गाजामा आकाश, जमिन र समूद्रबाट आक्रमण जारी राखेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले यसलाई हमासविरूद्धको दोस्रो चरणको युद्ध भनेका छन् । गाजामा हवाइ आक्रमण गरिरहेको इजरायलले शुक्रबारदेखि जमिन र समुद्रबाट पनि आक्रमण सुरू गरेको छ । इजरायली सेनाहरु जमीनबाटै गाजा पट्टीमा प्रवेश गरी त्यहाँ आक्रमण गरिएको भिडिओहरु विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले प्रसारण गरिरहेका छन् ।

गाजामा इजरायलले जमिनबाटै आक्रमण सुरू गरेको बारे सञ्चारमाध्यहरूले उल्लेख गरेको भएपनी इजरायलले शनिबार अपराह्नसम्म त्यसबारेमा कुनैपनि आधिकारिक विवरण सार्वजनिक गरेको थिएन । गाजामा इजरायलले सुरू गरेको आक्रमणलाई हमास–इजरायल लडाइँको तीन साता यताकै भयानक भनिएको छ । इजरायली सैनिक जमिनबाटै प्रवेश गरेपछि गाजाका नागरिकहरू थप आतंकित भएका छन् ।

इजरायल–हमास युद्धको तीन साता बितिसक्दा गाजामा साँढे सात हजार मानिसहरू मारिएका छन् । गाजामा अहिलेसम्म मारिएका मध्ये  करिब ३ हजार महिला र बालबालिका मात्रै रहेको बताइएको छ । हमासले गरेको आक्रमणमा इजरायलमा १० जना नेपाली युवा सहित १ हजार ४ सय जनाको मृत्यु भएको थियो ।

अन्तर्राष्ट्रिय संघ संस्थाहरूले गाजाका नागरिकहरूको मानवअधिकार हनन भएको बताउँदै युद्ध रोक्न आह्वान गरेपनि इजरायलले गाजामाथिको आक्रमण रोकेको छैन झन् तिब्र बनाएको छ । गाजामा युद्धविराम गरी मानवीय सहायता लैजानका लागि संयुक्त राष्ट्रसंघको आइतबारको महासभामा जोर्डनले प्रस्ताव राखेको थियो । उक्त प्रस्तावलाई नेपालसहित १२० देशले समर्थन गरेका थिए । अमेरिकासहित १४ देश उक्त प्रस्तावको विपक्षमा उभिएका थिए भने ४५ देश मतदानमा सहभागी भएनन् ।