नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

यौन दुराचारका आरोपी कटवाल पक्राउ

ओखलढुङ्गान्युज, जेठ बालिकालाई यौन दुराचारको आरोप लागेका मोलुङ गाउँपालिकाका कृषि शाखा प्रमुख विनोद कटवाल पक्राउ परेका छन् । मुद्धा दर्ता हुँदा देखी सम्पर्क विहिन भएका कटवाललाई आज (मंगलबार) ओखलढुङ्गा प्रहरीले जिल्ला सदरमुकामबाट नै पक्राउ गरेको हो ।

कृािष शाखा प्रमुख कटवालले सुनकोशी १० का एक बालिकालाई यौन दुराचार गरेको आरोपमा पिडित पक्षले गत बैशाख २७ गते जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा जाहेरी दिएका थिए । जाहेरी दिएको जानकारी भएपछि कटवाल सम्पर्क विहिन भएका थिए । घटना बाहिर आउने भएपछि कटवालले बैशाख २२ गतेको मिति राखेर गत बैशाख २४ गते अर्का ब्यक्ति मार्फत गाउँपालिकामा राजिनामा पत्र पठाएका थिए ।

मुद्धा दर्ता भएर कार्बाही हुने भएपछि कार्बाही अगाडी नै जागिरको अबकाश पश्चात पाउने सेवा सुविधा मिलाउन उनी काठमाण्डौं गएको श्रोतले बताएको छ । काठमाण्डौंमा समेत प्रहरीले खोजतलासी गरेपछि उनी प्रहरी समक्ष आत्मसमर्पण गर्ने उद्धेश्य सहित शोमबार राति ओखलढुङ्गा आएको हुनसक्ने श्रोतले बतायो ।

कटवालको निरन्तर खोजीमा रहेको प्रहरीले कटवाललाई मंगलबार विहान जिल्ला सदरमुकाममा नै रहेको उनको घरवाट नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । कटवाललाई नियन्त्रणमा लिएर प्रहरीले आज नै अदालत पेश गरेको छ । प्रहरीले सात दिनको म्याद लिएर अनुसन्धानका लागि कटवाललाई हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।