नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

बाल यौन दुराचारका आरोपी मोलुङका कृषि शाखा प्रमुख कटवाल फरार

ओखलढुङ्गान्युज, बैशाख ३० जिल्लाको मोलुङ गाउँपालिकाका अधिकृत छैठौं कर्मचारी तथा कृषि शाखा प्रमुख विनोद कटवाललाई बाल यौन दुराचार गरेको आरोप लागेको छ । कटवालले बाल यौन दुराचार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ ।

उजुरी दर्ता भएको थाहा पाएपछि कटवाल सम्पर्क विहिन भएका छन् । कटवाललाई प्रहरीले पक्राउ पूर्जि जारी गरि खोजी गरिरहेको छ । बैशाख २७ गते प्रहरीमा जाहेरी दर्ता भएपछि प्रहरीले कटवाललाई पक्राउका लागि खोजी सुरु गरेको हो । पक्राउका लागि प्रहरीको टोली कटवाल रहन सक्ने सम्भावित स्थानमा पुगेर खोजी गरेपनि पक्राउ भने परि नसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

कृषि शाखा प्रमुख कटवालले स्थानीय एक १६ बर्षिया बालिकालाई घरमा नै बोलाएर पटक पटक यौन दुराचार गरेको आरोपमा उजुरी दर्ता भएको हो । पिडित बालिकाको तर्फबाट उनका आमाले उजुरी दर्ता गरेका हुन् । लामो समय देखी यौन दुराचार गर्दै आएका पिडकले अन्यलाई पनि दुव्र्यबहारको प्रयास गरेपछि बालिकासँगको घटना बाहिर आएको हो ।

घटना बाहिर आएर उजुरी दर्ता हुने निश्चित भएपछि २८ वर्षे सेवामा रहेका कटवालले अगाडीको मिति राखेर अर्का ब्यक्ति मार्फत पालिकामा आफ्नो राजिनामा बुझाएका छन् । २० गते देखी कार्यालयमा उपस्थित नभएका कटवालले २५ गते २२ गतेको मिति राखेर पालिकामा राजिनामा बुझाएका हुन् । घटनाको बारेमा बाहिर हल्ला सामान्य सुनेका बताउदै कृषि शाखा प्रमुख कटवालले पालिकामा राजिनामा बुझाएको मोलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज थापाले पुष्टि गरेका छन् ।

बलात्कार तथा यौन दुराचारसँग सम्बन्धित रहेका घटनाहरुमा पहिला स्थानीय स्तरमा नै मिलाउन खोज्ने र स्थानीय स्तरमा घटना नमिल्ने भएर उजुरी दर्ता हुने भएपछि पिडक फरार हुने गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देबेन्द्र दासले बताए । फरार भए भनिएका कटवालको हकमा पनि त्यस्तै भएको हुन सक्ने प्रहरी निरीक्षक दासले आशंका गरे । तथापी उनलाई पक्राउका लागि पक्राउ पूर्जि जारी भैसकेकोले उनी पक्राउ पर्न र कार्बाहीबाट जोगिन नसक्ने प्रहरी निरीक्षक दासले बताए ।

बलात्कार तथा यौन जन्यहिंसाका घटनामा कडा कार्बाही हुने बारेमा विभिन्न माध्यम मार्फत सूचना प्रबाह र जानकारी भएपनि घटना बृद्धि भैरहेका छन् । यस्ता घटनालाई स्थानीय स्तरमा नै मिलाउन नहुने जानकारी भएपनि घटनामा आर्थिक तथा सामाजिक रुपमा लेनदेन गरि घटना ढाकछोप हुदै आएका छन् । पहिला घटना ढाकछोप हुने र पछि नमिल्दा उजुरी गर्न पिडित आउदा घटनासँग सम्बन्धित प्रमाणहरु लोप हुने गरेका छन् । जसका कारण प्रहरीले गर्ने अनुसन्धानमा समस्याका साथै पिडकलाई आवश्यक कार्बाही हुनबाट समेत छुट्न सक्ने भएकाले यस्ता घटना समयमा नै प्रहरीलाई जानकारी तथा उजुरी गर्न प्रहरीले अनुरोध गरेको छ ।