नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

ओखलढुङ्गान्युज, बैशाख २८ । नेपालमा गणतन्त्र स्थापनाको क्रममा दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । कायस्थको उपचारका क्रममा बुधबार बेलुकी साढे ७ बजे निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।

अध्यक्ष नेपालका अनुसार मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए । १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो । २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । गोली लाग्दा मुकेशको उमेर १४ वर्षको मात्र थियो ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका मुकेश १७ वर्षदेखि जीवन र मृत्युसँग लडिरहेका थिए । निरन्तरको स्याहार र उपचारपछि देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म भएका मुकेश २०७५ असारमा अचानक बिरामी परेपछि पुरानै अर्धचेत अवस्थामा फर्किएका थिए ।

सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । मुकेशलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजक रहेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्यांकन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो ।

अनलाईनखबरबाट