नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

हलेसी तुवाचुङमा गहत बाली लगाउनेलाई अनुदान

ओखलढुङ्गान्युज, बैशाख २४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा गहत खेती गर्ने किसानले अनुदान पाउने भएका छन् । नगरपालिकाले ल्याएको गहत खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत किसानहरुलाई अनुदान दिन लागिएको हो ।

स्वास्थ्यका लागि बहुउपयोगी भएपनि लोपोन्मुख बन्न लागेको गहत खेतीलाई प्रोत्साहन गर्दै किसानको आयआर्जनमा टेवा पुर्याउने लक्ष्यकासाथ नगरपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रम ल्याएको हो । गहत बालीको उत्पादकत्व वृद्धि गर्दै बजारीकरण गर्ने र गहतलाई किसानको भरपर्दो आम्दानीको माध्यम बनाउने लक्ष्यका साथ रैथाने बाली प्रवर्द्धन कार्यक्रम अघि सारिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताइृन् ।

आर्थिक वर्ष २०७९÷८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरपालिकाले व्यावसायिक रुपमा गहत खेतीका लागि इच्छुक कृषक, निजी उद्यमी र फर्मलाई आवेदन दिन सूचना प्रकाशित गरेको छ । गहतको बिउ भएका किसानले स्वतः गहत उत्पादन गर्न सक्ने र बिउ नभएका किसानलाई नगरपालिकाको तर्फवाट आवश्यक बिउ उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

त्रि–धार्मिकस्थल हलेसीमा आएर फर्कने विभिन्न ठाउँका दर्शनार्थी एवम् पर्यटकले ‘कोसेली’का रुपमा लैजान पाउनेगरी गहत खेती प्रवर्द्धनको कार्यक्रम ल्याइएको हो । नगरपालिकामा गहतको व्यावसायिक खेतीको प्रचुर सम्भावना छ । नगरपालिकाको ११ वडामध्ये सबैजसो वडामा गहत खेती हुने गरेको छ । गहतलाई नगरपालिकाले बजारीकरणमा सहयोग गर्ने तयारी थालेको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार, बडहरे, दुर्छिम, मङ्गलटार लगायतका ठाउँका किसानले गहत खेती गर्दैआएका छन् । अहिले गाउँघरमा गहत दालको रुपमा उपयोग हुने गरेको छ । नगरपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत बदाम, कागुनो र जुनेलो खेती गर्ने किसानलाई पनि बिउका लागि आवेदन दिन आह्वान गरेको छ ।