नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

सुनकोशीमा प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

ओखलढुङ्गान्युज, बैशाख १९ जिल्लाको सुनकोशी गाउँपालिकामा प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको मुकाम रहेको मूलखर्कको नवनिर्मित खेल मैदान र कभर्डहलमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको प्रतिनिधी सभाका सांसद माननिय रामहरि खतिवडाले आज औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै सांसद खतिवडाले जिल्लाको खेलकुद क्षेत्रलाई माथि उकास्नका लागि एक विद्यालय एक खेलकुद मैदान र एक खेलकुद शिक्षकको व्यबस्थाका लागि आफुले संसदमा आवाज उठाउने बताएका छन् । खेलकुदले मानिसलाई स्वस्थ्य पनि राख्ने र विकासलाई पनि टेवा पु¥याउने भएकोले राज्यले पनि खेलकुद क्षेत्रमा लगानी बढाउनु पर्ने बताए ।

आफु मन्त्री नबने पनि ओखलढुङ्गा जिल्लामा एकजना मन्त्रीले भन्दा अझ बढि बजेट ल्याएर विकास गर्ने बताए । आफ्नो कार्यकालको पाँच बर्ष भित्र जिल्लाका सबै गाउँपालिकाका मुकाममा पिचको काम गरेरै छाड्ने सांसद खतिवडाको भनाई थियो । सबै स्थानीय सरकारको नेतृत्वहरुलाई आलोचनाको राजनिती छाड्न आग्रह गर्दै सांसद खतिवडाले जनताको आवश्यकतालाई मध्यनजर गर्दै ईमान्दारिता पूर्वक काम गरे कसैले रोक्न नसक्ने समेत बताए ।

उद्घाटन सत्रमा प्रतियोगिता आयोजना गर्नुको उद्धेश्यबारे बताउदै गाउँपालिकाका अध्यक्ष कमल तामाङले गाउँपालिकाको केन्द्रमा नै नयाँ कभर्ड हल र ग्राउण्ड बनाएर प्रतियोगिताको आयोजना गर्न सफल भएको बताए । आगामी दिनमा समेत गाउँपालिकाको तर्फवाट खेलकुदको क्षेत्रमा थप बजेटको व्यबस्थापन गर्दै आगामी दिनमा अझ बृहत प्रतियोगिताको आयोजना गर्ने बताए ।

अध्यक्ष कप प्रतियोगिता अन्तर्गत बैशाख २२ सम्म सेभेन ए साईज फुटबल र ब्याडमिन्टन प्रतियोगिता सञ्चालन भैरहेको छ । प्रतियोगितामा फुटबल तर्फ १५ टिम, ब्याडमिन्टनको ग्रुप ए मा ८ टिम, ग्रुप बी मा २९ टिम र पुरुष भेट्रान्स तर्फ ९ टीम सहभागी भएका छन् । प्रतियोगिताको फाईनलको दिन बुद्धजयन्तीको अबसरमा शुभकामना आदान प्रदानसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने प्रतियोगिता आयोजक समितिका सदस्य एवम् गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गोविन्दराम तामाङले बताए ।