नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

आज मे १ अर्थात अन्तराष्ट्रिय श्रमिक दिवस

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने प्रधानमन्त्री प्रचण्डको भनाई

ओखलढुङ्गान्युज, बैशाख १८ आज मे १ तारिख । अर्थात अन्तराष्ट्रिय श्रमिक दिवस । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो शहरका श्रमिकले सडक ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ ।

मे दिवसको अबसरमा शुभकामना दिदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डले आज जारी गरेको शुभकामना सन्देशमा सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गरिने उल्लेख छ ।

नेपाल र विश्वका मजदुरमा बधाई तथा शुभकामना व्यक्त गर्दै सन्देशमा भनिएको छ,’नेपाली श्रमिक जनसमुदाय खास गरी किसान मजदुरको हकहित र अधिकारका पक्षमा आफूलाई उभ्याउने प्रण गर्दछु, नेपाली श्रमजीवी जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पु¥याउने ऐतिहासिक जिम्मेवारी हाम्रा सामू छ । यो जिम्मेवारी पूरा गर्न म अनवरतरुपमा लागिरहने प्रण गर्दछु ।’

शुभकनामना सन्देशमा अदक्ष तथा अप्रमाणित अवस्थामा जोखिमपूर्ण काम गरिरहेका सबै सरसफाइ मजदुरलाई आगामी आर्थिक वर्षभित्र दक्ष बनाउने उद्देश्यका साथ सरकारी निकाय र जिम्मेवार संस्थाहरुले अनिवार्य रुपमा आफ्ना मजदुरलाई उचित पेशागत तालिम दिन, आधुनिक सामग्री प्रयोग गर्न, सुरक्षासहितको उपयुक्त पोशाक प्रयोग गर्न तथा कामको नियमित अनुगमन गर्न निर्देशन दिइएको उल्लेख छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपालमा पनि विभिन्न ट्रेड युनियनले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेस र नेपाल ट्रेड युनियन महासंघलगायतले कार्यक्रम गर्ने जनाएका छन् । २००३ सालमा विराटनगरको ऐतिहासिक मजदुर आन्दोलनबाट प्रारम्भ भएको नेपालको ट्रेड युनियन आन्दोलनले ७७ वर्ष पार गरेको छ।