नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

सुनकोशी गाउँपालिकाका ३ विद्यालय खारेज

ओखलढुङ्गान्युज, बैशाख १३ जिल्लाको सुनकोशी गाउँपालिकाले पालिका क्षेत्रमा रहेका तीन विद्यालयलाई खारेज गरेको छ । विद्यालयमा विद्यार्थी संख्या नभएपनि गाउँपालिकाले निर्णय गरेर नजिकैको विद्यालयमा मर्ज गरेपछि ति विद्यालयहरु खारेज भएका हुन् ।

सुनकोशी गाउँपालिकाको बैशाख १० गते बसेको कार्यपालिकाको बैठकले विद्यालय सञ्चालन भएर पनि विद्यार्थी नरहेका विद्यालयहरुलाई नजिकैको विद्यालयमा मर्ज गर्ने निर्णय गरेको हो । गाउँपालिकाको निर्णयसँगै अबसुनकोशी ३, ढाँडखोलाको गंगा आधारभूत विद्यालय जाल्पा आधारभूत विद्यालय देविटारमा, सुनकोशी ७ रयालेको चम्पा आधारभूत विद्यालय वडा नं. ८ को जगतजननी मावि मानेडाँडामा र सुनकोशी १० कटुञ्जेको सृजनादेवी आधारभूत विद्यालय कुशादेवी माविमा मर्ज भएका हुन् ।

मर्ज भएका विद्यालयका सम्पूर्ण सरकार कागजात र सामाग्रीहरुलाई मर्ज भएको विद्यालय तथा विद्यालय व्यबस्थापन समितिमा हस्तान्तरण गर्न समेत पालिकाले निर्देशन दिएको छ । गाउँपालिकामा आधारभूत तथा माद्यमिक गरि ४० ओटा सामुदायीक विद्यालय रहेकोमा अब ३७ मात्र भएका छन् ।

मर्ज भएका ति विद्यालयमा विद्यार्थी संख्या नभएपनि न्यूनतम २ देखी ५ दरबन्दीका शिक्षकहरु कार्यरत रहेका थिए । विद्यार्थी संख्या नभएपनि वर्षै पिच्छे ति विद्यालयमा समेत फर्निचर नभएको तथा शौचालय नभएको भन्दै बजेट माग हुदै आएको थियो भने अन्य विद्यालयमा भने विद्यालयमा शिक्षक नपुगेको गुनासो आउने गरेको गाउँपालिकाका अध्यक्ष कमल तामाङले बताए ।

विद्यालय मर्ज भएसँग केहि मात्रामा भएपनि गाउँपालिकालाई आर्थिक भार कम हुने अध्यक्ष तामाङले बताए । मर्जरमा परेका विद्यालयका केहि विद्यार्थीहरुलाई भने पढ्न जान समस्या नहोस भनेर नजिकैको अर्को विद्यालयमा मर्ज गरेको र साना शिशु कक्षाका विद्यार्थीहरु धेरै भएका स्थानमा भने बाल विकास कक्षा सञ्चालन सोहि स्थानमा नियमित हुने अध्यक्ष तामाङको भनाई छ । चाडै नै विद्यार्थीको संख्या कम भएका गाउँपालिका भित्रका थप ७ विद्यालयलाई पनि मर्ज गर्ने तयारी गरिएको पनि अध्यक्ष तामाङले बताए ।