नेपाली समय Loading...२०८१ जेष्ठ ६ आईतवार

चिशंखुगढीका शिक्षक कर्मचारीको करार सम्झौतामा कडाई

ओखलढुङ्गान्युज, बैशाख १२ चिशंखुगढी गाउँपालिकाले गाउँपालिका भित्रका शिक्षक तथा कर्मचारीहरुको करार सम्झौतामा कडाई गरेको छ । गाउँपालिकाले एक सुचना प्रकाशित गरेर समयमा नै करार सम्झौता नविकरण नगर्नेलाई गाउँपालिकाले सेवा सुबिधा उपलब्ध नगराउने जनाएको छ ।

गाउँपालिकाले सूचना जारि गर्दै चिशंखुगढी गाउँपालिकाले शिक्षा नियमावली २०७६ (संशोधन सहित) को नियम ५५ बमोजिम करारमा नियुक्त भएको एक शैक्षिक सत्रसम्म पनि उक्त रिक्त पदमा स्थायी पदपूर्ति नभएमा व्यबस्थापन समितिले एकपटकको लागि मात्र बढिमा एक शैक्षिक सत्रका लागि करारको म्याद थप गर्न सक्ने व्यबस्था छ । गाँउपालिकाले सोहि नियमभित्र रहि गाउँपालिका भित्रका करारमा नियुक्त भएका अनुदान, राहत, अस्थायी (करार), विद्यालय कर्मचारी तथा बाल विकास सहयोगी कार्यकर्ताको समेत विद्यालय व्यबस्थापन समितिले करार सम्झौता गरि बैशा २५ सम्म गाउँपालिकामा जानकारी गराउन निर्देशन दिएको छ ।

विद्यालयमा नियुक्त भएका अस्थायी, राहत तथा अनुदान कोटाका शिक्षकहरु नियुक्त भएपछि शैक्षिक सत्र समापन भएपछि करार सम्झौता नविकरण गर्नुपर्ने भएपनि विद्यालयहरुले त्यसो गर्ने गरेका थिएनन् । गाउँपालिका क्षेत्रभित्र रहेका शिक्षक तथा कर्मचारीहरुलाई गाँउपालिकाको नियमभित्र ल्याउने योजना अनुसार सम्झौता नविकरणमा कडाई गरिएको गाउँपालिकाले जनाएको छ ।