नेपाली समय Loading...२०८१ जेष्ठ ६ आईतवार

तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले भारीमतका साथ विजयी

ओखलढुङ्गान्युज, बैशाख १२ प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत तनहुँ–१ मा मतगणना सकिएको छ । मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । वाग्लेले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई झण्डै १५ हजार बढी मतले पछि पार्दै विजयी भएका हुन् ।

रास्वपाका वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा कांग्रेसका भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत् प्राप्त गरेका छन् ।

वाग्लेले यसअघि मंसिर ४ मा विजयी उम्मेदवारले भन्दा बढी मत ल्याएका छन् । मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी भएका उम्मेदवार कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन भएको हो । तनहँमा पौडेलले २५ हजार ३ सय ६१ मत ल्याएर विजयी भएका थिए । त्यसवेला पौडेलका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ मत ल्याएका थिए । त्यस्तै तेस्रो स्थानमा रहेका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विकाश सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए ।

कांग्रेसभित्र भावी अर्थमन्त्रीका रूपमा हेरिएका अर्थशास्त्री स्वर्णिम वाग्ले कांग्रेसबाट गत चैत १६ मा कांग्रेस पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका थिए । उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्ने उद्देश्यका साथ वाग्लेले कांग्रेस छाडेका थिए ।