नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउन सकिन्छ

ओखलढुङ्गान्युज, बैशाख ११ नेपाली कम्युनिष्ट आन्दोलनका वाम बुद्धिजीवि तथा विष्लेषक श्याम श्रेष्ठ र लोककृष्ण भट्टराईले नेपालमा एउटै कम्युनिष्ट पार्टी बन्ने आधार रहेका बताएका छन् । कम्युनिष्ट पार्टी स्थापनाको ७४ वर्ष पुरागरि ७५ वर्ष लागेको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान र नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आईतवार ओखलढुङ्गामा आयोजना गरेको विचार गोष्ठीमा उनीहरुले यस्तो बताएका हुने ।

बाम विष्लेषकद्वय भट्टराई र श्रेष्ठले नेपालमा जनमत कम्युनिष्ट पार्टीहरुको धेरै रहेको अवस्थामा शासन सत्तामा भने गैर कम्युनिष्टहरुको हालीमुहाली हुनु मुलुकको हितमा नभएको बताए । एउटै कम्युनिष्ट पार्टी बन्ने आधार रहेको भएपनि तत्काल एउटै कम्युनिष्ट पार्टी बनाउने अवस्था नरहेकोले न्यूनतम साझा समाजवादी कार्यक्रम तयार पारेर कम्युनिष्ट महासंघ निर्माण गर्न सकिने उनीहरुको तर्क छ ।

देशमा विभिन्न चिराहरुमा रहेका कम्युनिष्टहरुको एउटै पार्टी बनाउन वा महासंघमा अटाउन नसकिएमा देशमा दुईवटा मात्रै कम्युनिष्ट पार्टी बनाउनु पर्ने बाम विष्लेषक श्रेष्ठले बताए । दुईवटा कम्युनिष्ट हुदा एउटाले सत्ता सञ्चालनको काम र अर्काले निरन्तर गलत कुरा र बाटाको खबरदारी गरिरहनुपर्ने उनको भनाई छ । श्रेष्ठले पार्टीका नेताहरुमा झाँगिएको गैर कम्युनिष्ट आचरणले कार्यकर्तादेखि जनतासम्म निराशा छाएको टिप्पणी गरे ।

पुष्पलाल स्मृति प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष तथा बाम विश्लेषक भट्टराईले नेपालमा अस्तित्वमा रहेका कम्युनिष्ट पार्टीहरुको एउटै महासंघ बनाउन पहल गरिने बताए । भट्टराईले सदनमा भएका कम्युनिष्टहरु सुधारवादी समुह र संसदीय प्रद्धतिमा नरहेकाहरुको क्रान्तिकारी समुह गरेर दुई खाले मात्रै पार्टी निर्माण गर्न सकिए पनि नेपाली कम्युनिष्ट आन्दोलन बलियो बन्दै जाने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका ओखलढुङ्गा संस्थापक नेता एवम् वाम विष्लेषक पुस्कर गौतमले नेपाली कम्युनिष्ट आन्दोलनको एकताः संभावना र चुनौति  विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि विष्लेषक श्याम श्रेष्ठ र डाइलेक्टियल सोसाइटिका विनोद लोहनीले टिप्पणी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कम्युनिष्ट नेताहरु पेशल खतिवडा, देवशंकर पौडेल, मोहन कुमार खड्का, चम्पा कार्की, हर्कबोल राई निशान्त शर्मा, रुद्र फुयल लगायतले नेपालमा कम्युनिष्ट एकताको आवश्यकता र चुनौतिका बारेमा धारणा राखेका थिए । आफ्नो धारणा राख्दै उनीहरुले कम्युनिष्ट पार्टीका नेताहरुको देवत्वकरण गर्ने कार्यकर्ता तथा आधार र नैतिकता छाड्ने नेताहरुको आचरण र व्यवहारका कारण नेपाली कम्युनिष्ट आन्दोलन कमजोर बनेको निष्कर्ष निकालेका थिए ।