नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

चिशंखुगढीमा नमुना युवा संसदको अभ्यास

ओखलढुङ्गान्युज, बैशाख १० । ओखलढुङ्गा जिल्लाको चिशंखुगढी गाउपालिकाका युवाहरुले स्थानीय सरकार सञ्चालनको नमूना अभ्यास गरेका छन् । चिशंखुगढी गाउपालिकामा चारदिन (वैशाख ६ गते देखि ९ सम्म) भएको प्रशिक्षण पश्चात समापनको दिन नमूना अभ्यास गरेका हुन् ।

नमूना अभ्यासमा सहभागी युवाहरुले नमूना मतदान गरेर सभाको अध्यक्षमा महिला तथा उपाध्यक्षमा पुरुषको चयन गरेका थिए । प्रतिनिधि छनोटपछि अभ्यासका क्रममा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सरकार सञ्चालको अभ्यास गाउँ सभामार्फत गरेका थिए । नमूना अभ्यास सभाले चिशंखुगढी गाउँपालिकामा आर्थिक वर्ष २०७९/८० को नमुना नीति तथा कार्यक्रम, नमुना बजेट, आर्थिक तथा विनियोजन विधेयक २०८० तथा स्थानीय युवा परिषद गठन सम्बन्धी विधेयक २०८० क्रमश सभा समक्ष प्रस्तुत गरेका थिए ।

सभामा प्रस्तुत गरेको विधेयक उपर छलफल र जवाफको प्रक्रिया पश्चात निर्णयार्थ प्रस्तुत गरिएको थियो । छलफलको क्रममा केहि नमूना युवा गाउँसभा सदस्यहरुले राम्रो नीति तथा कार्यक्रम ल्याएकोमा सभाध्यक्षलाई धन्यवाद दिएका थिए भने कुनै गाउँ सभा सदस्यले गलत मनासयबाट आएको भनी आलोचना तथा परिमार्जन गर्न सभा मार्फत सभाध्यक्षको ध्यानाकर्षण गराएका थिए ।

नमूना अभ्यास गर्नुपूर्व सहभागी युवाहरुलाई राष्ट्रिय युवा परिषदका प्रशिक्षक अभिनाश कार्कीले प्रशिक्षण दिएका थिए । उनीहरुलाई विषयगत र प्रक्रियागत गरी युवा, जीवन र मार्गदर्शन, युवा संसदको अभ्यास र अवधारणा, लोकतन्त्र, लोकतन्त्रमा युवाको भूमिका, लोकतन्त्रमा जनताको शासन, सूचनाको हक लगायत १६ वटा सत्रको अभ्यास गराइएको प्रशिक्षक कार्कीले बताए ।

प्रशिक्षण तथा नमूना अभ्यास कार्यक्रममा गाउँपालिकाको प्रत्येक वडामा वडा क्लव गठन गरी त्यहाँबाट प्रतिनिधित्व गरेर ३÷३ जनाका दरले ८ वटा वडाबाट २४ जना सहभागी भएक थिए । त्यस्तै पालिकाले विषेश समूहका युवालाई समेट्ने गरी थप ५ जना मनोनित गरी जम्मा २९ जना नमूना अभ्यास कार्यक्रममा सहभागी भएका थिए ।

नेपाल सरकारको राष्ट्रिय युवा निति २०७२ ले १६ देखी ४० वर्ष उमेर समुहको जनसङ्ख्यालाई युवा मानेको छ । तिनै युवाहरुलाई सरकार सञ्चालन प्रक्रियामा पोख्त बनाउने उद्धेश्यले राष्ट्रिय युवा परिषदको स्थानीय तहतर्फको वार्षिक सशर्त अनुदान कार्यक्रम अन्तर्गत देशका ७७ जिल्लामा नमुना युवा संसद अभ्यास कार्यक्रम गर्दै आएको छ । जसमध्ये एक जिल्लाको एक स्थानीय तहमा यो कार्यक्रम हरेक वर्ष सञ्चालन हुँदै आएको छ । परिषदले नमुना युवा संसद संघीय संरचना अनुरुप स्थानीय तहमा गाउँ र नगर सभाको अभ्यास गराउँछ भने प्रदेशमा प्रदेश सभा तथा संघमा संघीय प्रणाली बमोजिम संघीय संसद अभ्यास गराउने गर्छ ।

चिशंखुगढीका युवाले गरेको नमूना अभ्यास गाउँसभाको गाउँ कार्यपालिकाका सदस्यहरुले चासोका साथ अबलोकन गरेका थिए । अबलोकन तथा समापन कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुले विषय प्रतिको ज्ञान अभाबका कारण सभा सञ्चालनमा असजिलो हुने गरेको बताएका थिए । युवाहरुलाई सहभागी गराएर सञ्चालन गरिएको यस्ता कार्यक्रम पश्चात युवाहरु निर्वाचित भएर आउदा विकास निर्माण तथा कार्यक्रम सञ्चालन र कार्यान्वयनले लक्ष्य प्राप्तिमा सहयोग हुने बताएका थिए ।

नमूना युवा संसद अभ्यासको अबलोकन पश्चात आफुहरु सहभागी हुने गरेको सभा विषय वस्तुको ज्ञानको अभावका कारण असहज हुने गरेको तर युवाहरुले सरल र सहज रुपमा धेरै राम्रो गरेकोले वास्तविक सभाको अनुभति भएको भन्दै यस्ता खाले कार्यक्रम अब पालिका आफैंले सक्रियता पूर्वक यसका दायरा अझै बढाउने बताएका थिए ।

समापन समारोहमा मन्तव्य राख्दै गाँउपालिका अध्यक्ष निशान्त शर्माले युवाले सक्षम नेतृत्व लिएर विकास गर्नु आजको आवश्यकता रहेको बताए । अध्यक्ष शर्माले तालिममा सिकेका कुरालाई आत्मसात गर्न आग्रह गरे । गाउँपालिकाको सर्वपक्षिय विकासका लागि राजनितिक समन्वय अपरिहार्य रहेकाले युवालाई पनि समेटर पालिका अघि बढेको बताए ।