नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

ठूलाछापमा युवाहरुलाई भिनको क्षमता विकास तालिम

ओखलढुङ्गान्युज । २८ चैत, ओखलढुङ्गा । स्वयम् सेवी अभियान नेपाल (भिन) ले ठूलाछापका युवाहरुलाई जिवनोपयोगी क्षमता विकास तालिम प्रदान गरेको छ । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. २ ठुलाछापमा भिनले नरटिका सामुदायिक सिकाइ केन्द्र  ठूलाछापमा शोमबार तीनदिने क्षमता विकास तालिम सम्पन्न गरेको हो ।

उक्त तालिममा सिद्धिचरण नगरपालिकाको वडा नं १, २ तथा चिशंखुगढी गाउँपालिकाको वडा नं ६ का माध्यमिक तथा उच्च माध्यमिक तहमा अध्ययनरत ५० जना भन्दा बढि युवायुवतिहरुको सहभागिता रहेको थियो । माध्यमिक तथा उच्च माध्यमिक तहमा अध्ययन गर्दै रहेका युवा विद्यार्थीहरुका लागी यो तालिम अत्यन्तै उपयोगी हुने तालिम आयोजक संस्था भिनले जनाएको छ ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिद्धिचरण नगरपालिका वडा नं. २ का वडा अध्यक्ष बशन्त कटवालले परिवर्तनको मुखमा रहेका र केहि गरौ भन्ने युवा जोश रहेका विद्यार्थी युवाहरुलाई सहिवाटोमा लाग्न प्रेरणा मिल्ने बताए । यस्ता तालिमहरुलाई वडाका विद्यालय विद्यालयमा विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिदै अध्यक्ष कटवालले तालिममा सिकेका शीपलाई व्यबहारमा प्रयोग गरे उनीहरुको क्षमता विकाससँगै जिवन जिउन सहज हुने बताए । तालिम पश्चात उनीहरुमा सकारात्मक कुराको सञ्चार हुने हुँदा समाज विकास र परिवर्तनमा समेत युवाहरुले ठूलो योगदान पु¥याउन सक्ने अध्यक्ष कटवालको भनाई थियो ।

भिनले ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका तथा चिशंखुगढी गाउँपालिकाका विभिन्न वडाहरुमा शिक्षा, स्वास्थ्य, खानेपानी एवम् क्षमता विकासका तालिमसँगै उनीहरुलाई व्याबसायीकता तर्फ उन्मुख गराउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।