नेपाली समय Loading...२०८१ जेष्ठ १ मंगलवार

रामेछाप : आफ्नै मृत्यु दर्ता बनाएर श्रीमतीलाई विदुवा भत्ता

ओखलढुङ्गान्युज चैत, रामेछाप जिल्ला प्रशासन कार्यालय रामेछापमा कार्यरत मन्थली नगरपालिका ३ भटौलीका रामबाबु खत्रीले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिला भत्ता खुवाएको तथ्य फेला परेको छ । खत्रीले आफ्नो मृत्युको प्रमाणपत्र बनाएर श्रीमती निर्मला खत्रीलाई झन्डै १२  महिनाको एकल महिला भत्ता खुवाएको तथ्य फेला परेको हो ।

खत्री जिल्ला प्रशासन कार्यालयमा कर्मचारी भएको बेला पदको दुरुपयोग गरेको हुनसक्ने आशंका गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेका खत्रीले श्रीमतीलाई भत्ता खुवाएको पत्ता लागेपछि कारबाही हुने डरले पछि जिल्ला कारागार सरुवा भएका थिए । जिल्ला कारागारमा केहि समय विताएपछि उनले जागिरवाट राजिनामा गरेका थिए ।

खत्रीको मृत्यु प्रमाणपत्र पाएपछि तत्कालीन वडा सचिव शिवकुमार महतोले २०७८ साल भदौ २१ गते नै बिधुवा भत्ताको परिचयपत्र सोही दिनदेखि लागू हुनेगरि बनाइदिएका थिए । तर महतोले खत्रीकी श्रीमती निर्मलालाई बनाईदिएको परिचय पत्रमा बुबा आमाको मात्र नाम खुलाएका छन् भने पतिको नाम नखुलाएको पाईएको छ ।

मन्थली नगरपालिकाबाट प्राप्त सुचना अनुसार निर्मलाले २०७९ माघ सम्ममा सामाजिक सुरक्षा भत्ता मासिक २ हजार ६६० रुपैयाँका दरले १५ महिनामा ३९ हजार ९ सय रुपैयाँ बुझेकी छन् । निर्मलाका पति जीवितै रहेको र उनले पतिको मृत्यु पर्यन्त पाउने भत्ता लिइरहेको तथ्य बाहिरिएको हो ।

समाचार बाहिर आएपछि मन्थली नगरपालिकाले विगतमा भत्ता लिएको र पतिको मृत्यु नभएको जानकारी पाएपछि रोकेको जनाएको छ । मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले निर्मलाले भत्ता लिएको र उनको पतिको मृत्यु नभएको जानकारी पाएपछि सत्यतथ्य बुझेर भत्ता कटौती गरिसकेको बताए । बर्तमान वडा अध्यक्ष कृष्ण गोपाल थापालेपनि निर्मलाले भत्ता लिएको कुरा सत्य भएको बताएका छन् ।

जीवित मान्छेलाई मृत्युको प्रमाणपत्र दिने, एकल महिलाका नाममा लाभग्राही बनाउने र सामाजिक सुरक्षा भत्ताको रकम दुरुपयोग गर्नेलाई प्राप्त प्रमाणका आधारमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताए । कसैले चलखेल गरेर रकम फिर्ता गराएको भए पनि यो घटनालाई अनुसन्धान गर्ने र संलग्नलाई छानबिनको दायरामा ल्याउने प्रजिअ रेग्मीले बताएको आज अन्नपुर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित भएको छ ।