नेपाली समय Loading...२०८१ जेष्ठ ३ बिहीबार

ओखलढुङ्गामा गुडी रहेको सुमोमा आगलागी

ओखलढुङ्गान्युज २६ फागुन, ओखलढुङ्गा शुक्रबार दिउसो ओखलढुङ्गामा गुडीरहेको सुमो गाडीमा आगलागी भएको छ । सोलुखुम्बु जिल्लाका लागि काठमाण्डौं बाट आउदै गरेको ना १ ज ८८८१ नम्बरको सुमो गाडीमा अपरान्ह २ बजेतिर ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ७ हिलेपानी नजिकै आगलागी भएको हो ।

आगलागीबाट सुमो पूर्ण रुपमा जलेर नष्ट भएको छ । सुमोमा चालक सहित ९ जना यात्रुहरुले यात्रा गरिरहेका थिए । आगलागीका कारण सुमो जलेर नष्ट भएपनि मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । आगलागी हुन थालेपछि यात्रुहरु सबै सुमो बाहिर निस्केको र आ–आफ्नो सामान निकाल्न सफल भएकोले सामाग्री पनि क्षति नभएको प्रहरी निरीक्षक दासले जानकारी दिए ।

घटनाबारे जानकारी हुनासाथ प्रहरी नायव उपरीक्षक दिपक केसी आफै प्रहरी टोली लिएर घटनास्थल पुगेका थिए । तिब्र गतिमा गाडी गुडिरहेकोले गाडीको ईञ्जिन तातिएर वायरिङ तार सर्ट हुदा आगलागी भएको प्रहरीले अनुमान गरेको छ । प्रहरी, स्थानीय नागरिक तथा अन्य सवारी साधनका यात्रुहरुको सहयोगमा आगो निभाईएको थियो । सुमो आगलागी भएर नष्ट भएपछि अलपत्र रहेका यात्रुहरुलाई प्रहरीको समन्वयमा अन्य सवारी साधनमा गन्तब्य स्थल तर्फ पठाईएको प्रहरीले जनाएको छ ।