नेपाली समय Loading...२०८१ जेष्ठ ३ बिहीबार

नेपालको तेश्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

ओखलढुङ्गान्युज । २५ फागुन, काठमाडौं । नेपालको तेश्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । आज भएको राष्ट्रपतिको निर्वाचनमा पौडेलले ३३ हजार ८ सय २ मतभार सहित निर्वाचित भएका हुन् ।

राष्ट्रपतिमा निर्वाचित पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाएका छन् । पौडेलले २ सय १४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

एमालेकाे तर्फबाट उमेदवार बनेका राष्ट्रपति पदका उमेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मत भार पाएका थिए । नेम्वाङले ९६ संघीय सांसद र १ सय ६२ प्रदेश सांसदको मत पाएका निर्वाचन कार्यालयले जनाएको छ ।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३ सय १३ संघीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्य गरी ८ सय ३१ जनाले मतदान गरेका थिए । राष्ट्रपति निर्वाचनमा सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।