नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

आज राष्ट्रपति चुनाव : को बन्लान तेश्रो राष्ट्रपति ?

ओखलढुङ्गान्युज । २५ फागुन, काठमाण्डौं । नेपालको चौथो कार्यकालको तेश्रो राष्ट्रपति चयनका लागि आज (फागुन २५) निर्वाचन हुँदैछ । राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।

नेपालको तेश्रो राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार रहेका छन् । निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ ।

राष्ट्रपतिको चुनावमा संघीय सांसद, राष्ट्रिय सभाका सदस्य र प्रदेश सभा सांसदहरुले भाग लिनेछन् । संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ । सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ । राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ ।

राष्ट्रपतिको निर्वाचनलाई लक्षित गरी नयाँबानेश्वर संसद भवन भित्र र बाहिर सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव हुन् । त्यस्तै दोस्रो राष्ट्रपतिको रुपमा नेकपा एमालेबाट विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन् । लगातार दुई कार्यकाल राष्ट्रपति बन्नुभएको भण्डारीको यही फागुन २८ गते कार्यकाल सकिदैछ । उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते हुनेछ ।