नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

आईसीसी विश्वकप क्रिकेट एसिया छनोटमा हङकङसँग नेपाल ९ विकेटले विजयी

ओखलढुङ्गान्युज १५ फागुन, काठमाण्डौं नेपालले शोमबार भएको आफ्नो खेलमा हङकङलाई ९ विकेटले पराजित गरेको छ । आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोट अन्तर्गत शोमबार भएको खेलमा हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको हो ।

शोमबार युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२ दशमलब १ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर आकाश त्रिपाठीले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए । यस्तै उत्तम थापा मगरले अविजित ३९ रन बनाए । छक्का प्रहार गर्दै जिताएका आकाशले ७२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । ५० बल खेलेका उत्तमले ४ चौका प्रहार गरे ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङ नेपाली बलरको कसिलो बलिङ सामु ४६ दशमलब ३ ओभरमा १२० रनमा अल आउट भएको थियो । हङकङका लागि पार्थ भागवतले ९३ बल खेल्दै ४ चौका प्रहार गरी सर्वाधिक ३६ रन बनाए ।  मोहम्मद अलियान जाहिरले २९ रन बनाए ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई र दोस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो । जारी प्रतियोगितामा ३ खेलमा ३ जित निकालेको युएई ६ अंक सहित शीर्ष स्थानमा छ । ३ खेलमा तीनै जितसहित ६ अंक नै बटुलेको नेपाल नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ । २ अंक सहितसिंगापुर तेस्रो तथा त्यति नै अंक जोडेको हङकङ चौथो स्थानमा छ । कुवेत र मलेसियाले अहिलेसम्म एउटै खेल पनि जित्न सकेका छैनन् ।

सोमबार नै भएको अर्को खेलमा युएईले सिंगापुरलाई ८ विकेटले हराएर लगातार तेस्रो जित निकालेको हो । नेपालले अब अर्को खेल मलेसियासँग मंगलबार खेल्नेछ । नेपाल र युएईबीच अन्तिम खेल बिहीबार हुनेछ । सिंगल राउण्ड रोविनको खेलपछि शीर्ष स्थानमा रहने ६ टिम २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट हुनेछ ।