नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

सुनकोशीमा दोस्रो राष्ट्रपति रनिंगशिल्ड खेलकुद प्रतियोगिता सुरु

ओखलढुङ्गान्युज । १२ फागुन, च्यानम । सुनकोशी गाउँपालिकाको च्यानममा गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । विहिवारदेखि सुरुवात भएको खेलकुद प्रतियोगिताको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमलले उद्घाटन गरे ।

रनिंगशिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष तामाङले खेलले भावनात्मक एकता कायम गर्नुका साथै आफुलाई स्वस्थ राख्ने बताए । खेलकुद राष्ट्रका लागि, स्वास्थ्यका लागि र शिक्षाका लागि समेत उपयोगी हुने बताउँदै अध्यक्ष तामाङले प्रतियोगीहरु पालिकामा मात्र सिमित हुन नहुने बताए ।

त्यस्तै गाउँपालिकाका संस्थापक अध्यक्ष रुद्र प्रसाद अधिकारीले‌ रनिंगशिल्ड खेलकुद प्रतियोगिता निरन्तर सन्चालन गर्नुपर्ने बताए । तर प्रतियोगिता साचालनका लागि भने बजेट विनियोजनमा केन्द्रीय सरकारको ध्यान नपुगेको भन्दै आगामी दिनमा गाउँपालिकाको तर्फबाट ध्यान पुर्याउनु पर्ने उनको भनाइ थियो ।

उद्घाटन सत्रमा सम्बोधन गर्दै गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीले अभाव र विभिन्न समस्याको बाबजुद पनि रनिंगशिल्ड प्रतियोगिता सुरु भएको बताइन । बजेट अभावका बाबजुद पनि विद्यार्थी खेलाडी सहभागी गराएकोमा सबै विद्यालयहरुलाई धन्यवाद दिदै उपाध्यक्ष अधिकारीले आगामी दिनमा सन्चालन हुने रनिंगशिल्ड प्रतियोगिताका लागि गाउँपालिकाको तर्फबाट बजेट विनियोजनमा ध्यान दिइने बताइन् । पुर्वाधार विकासको भन्दापनि गाउँपालिकाको ध्यान अब शैक्षिक विकास र गुणस्तरमा हुनुपर्ने समेत उपाध्यक्ष अधिकारीले बताइन् ।

विहिवारदेखि सुरु भएको प्रतियोगितामा सुनकोशी गाउँपालिकाका १२ वटा माद्यमिक विद्यालयहरुले सहभागिता जनाएका छन् । प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुनेछ । खेलकुद प्रतियोगितामा खेलाडीहरुलाई सहभागिता गराएको भएपनि खेलकुद व्यबस्थापनका लागि बजेटको अभाबका कारण सबै इभेन्टमा सहभागिता जनाउन नसकेको विद्यालयहरुले जनाएका छन् । गाउँपालिकाले भने कार्यविधि अनुसार नै प्रतियोगितामा सहभागी भएका प्रत्येक विद्यालयलाई १५ हजारका दरले बजेट उपलब्ध गराएको जनाएको छ ।

सुनकोशी गाउँपालिका वडा नं. ७ मा रहेको नमुना स्कुल प्रबुद्ध माविको खेलमैदानमा सन्चालन भैरहेको छ ।