नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

मोलुङ गाउँपालिका स्तरीय दोश्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी बरुणेश्वरलाई

ओखलढुङ्गान्युज फागुन, रामपुर मोलुङमा सञ्चालन भएको पालिका स्तरीय दोश्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी नमूना मावि बरुणेश्वरले जितेको छ । गत फागुन ६ गते देखी सञ्चालन भएको उक्त प्रतियोगितामा होम ग्राउण्डको फाईदा लिदै बरुणेश्वर नमूना माविले शिल्ड जितेको हो ।

छात्र तर्फ भलिबल खेलका फाइनल प्रतिष्पर्धी

तीनदिन सम्म सञ्चालन भएको प्रतियोगितामा बरुणेश्वर माविले समग्र खेलमा २२ स्वर्ण, २८ रजत र १५ कास्य पदका साथ शिल्ड जित्न सफल भएको हो । त्यस्तै दोश्रो बनेको शिवदुती माविले १२ स्वर्ण ८ रजत र १९ कास्य पदक प्राप्त गरेको छ । तेश्रो बनेको पात्ले माविले पनि १२ स्वर्ण, ३ रजत र १० कास्य पदक प्राप्त गरेको छ । यस पटकको रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका मोलुङ गाउँपालिकाका सबै विद्यालयहरुले प्रतिनिधीमूलक रुपमा मेडल जित्न सफल भएको मोलुङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख सरस्वती पौडेलले जानकारी दिईन् ।

त्यस्तै प्रतियोगितामा कालिका मावि श्रीचौरले ९ स्वर्ण, सरस्वती मावि कुन्तादेवीले ५ स्वर्ण, ६ रजत र १४ कास्य, रागादिप मावि रागादिपले ३ स्वर्ण, १० रजत र ८ कास्य, जेसे मावि जेसे पात्ले ३ स्वर्ण, ६ रजत १ कास्य, जीवन प्रदिप मावि हर्कपुरले २ स्वर्ण, १० रजत र २ कास्य, गणेश मावि ढुस्केले १ स्वर्ण, २ कास्य तथा जलजलेश्वर माविले १ रजत र १ कास्यपदक जित्न सफल भएको छ ।  

छात्रा तर्फ कबड्डीका फाइनल प्रतिष्पर्धी

विजेता भएका विद्यालय तथा विद्यार्थीहरुलाई मोलुङ गाउँपालिकाका अध्यक्ष उत्तम कुमार राई, उपाध्यक्ष उर्मिला खतिवडा, प्रमुख प्रशासकिय अधिकृत सरोज थापा लगायतका अतिथिहरुले शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष राईले रनिङ शिल्ड प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने र त्यसका लागि गाउँसभा मार्फत बजेटको व्यबस्थापन गर्ने प्रतिवद्धता जनाए ।

छात्र तर्फ कबड्डीका फाइनल प्रतिष्पर्धी

गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा समन्वय र व्यबस्थापनको जिम्मा बरुणेश्वर माविलाई दिएकोमा माविका प्रधानाध्यापक कुल प्रसाद खतिवडाले गाउँपालिकालाई धन्यवाद दिए । आफ्नै माविको खेलकुद मैदानमा सम्पन्न भएको प्रतियोगितामा पालिकाका सबै विद्यालयहरुले खेलाडी भाइबहिनीहरुलाई सहभागीता गराईदिएकोमा सबै विद्यालयका प्रधानाध्यापक, विद्यार्थी तथा विद्यालय व्यबस्थापन समितिलाई समेत प्रधानाध्यापक खतिवडाले धन्यवाद दिए ।