नेपाली समय Loading...२०८१ जेष्ठ ३ बिहीबार

आज महाशिवरात्री, शिव मन्दिरहरुमा दर्शनार्थीको भिड

ओखलढुङ्गान्युज । फागुन ६, काठमाण्डौं । आज महाशिवरात्री पर्व । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने यस पर्व हिन्दूहरुका आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी देशभर मनाइन्छ ।

मध्यरातमा चतुर्दशी तिथि आज परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पञ्चांग निर्णायक विकास समितिबाट सिफारिस पात्रोअनुसार आज साँझ ६ बजेर ६ मिनेटसम्म त्रयोदशी तिथि रहे पनि त्यसपछि चतुर्दशी लाग्ने भएकाले शनिबार नै महाशिवरात्रि पर्व मनाउन लागिएको हो । आज देशभरका विभिन्न शिव मन्दिरहरुमा भगवान् शिवको दर्शनका लागि भक्तजनहरुको घुईचो लागेको छ । 

वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । भगवान् शिव भक्तहरूको कल्याण गर्ने र चाँडै प्रसन्न हुने देवताका रूपमा मानिन्छ । यस्तै संहारका देवताका रूपमा पनि उनको महिमा छ । भगवान् शिवलाई पञ्चामृतले स्नान गरी चन्दन, सेता फूल, बेलपत्र आदिले पूजा गर्ने विधान छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।

नेपालका साथै भारतमा समेत शिबरात्री पर्व धुमधामसँग मनाइन्छ । भारतमा द्वादश ज्योतिर्लिङ्गका साथै साना ठूला शिव मन्दिरमा घुइँचो लाग्ने गरेको छ । पशुपतिनाथको दर्शन गर्न मुलुकका विभिन्न भागका श्रद्धालु काठमाडौं आएका छन् । भारतबाट आएका साधुसन्त तथा जोगीका लागि पशुपति क्षेत्र विकास कोषले भोजन तथा बासको व्यवस्था गर्दै कोषले उनीहरूलाई दक्षिणा भेटीसहित विदाइ गर्ने प्रचलन रहिआएको छ ।