नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

आईसीसी विश्वकप लिग टु क्रिकेटमा स्कटल्याण्ड माथि नेपालको ३ विकेटले जित

ओखलढुङ्गान्युज । ५ फागुन, काठमाण्डौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्डलाई नेपालले ३ विकेटले पराजित गरेको छ । नेपाली खेलाडी दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए । कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए । नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो । यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको मैदानमा पराजित गरेको थियो ।

नेपालले लक्ष्य पछ्याउने क्रममा आक्रमक सुरुवात गर्दै २ ओभरमा ३१ रन जोडेको थियो । पहिलो ओभरमा कुशल भुर्तेलले ४ चौका प्रहार गर्दा नेपालले २३ रन जोडेको थियो । दोस्रो ओभरमा आसिफले २ चौकासहित ८ रन जोडे । तर तेस्रो ओभरमा नेपालले दुई विकेट गुमायो । कुशल भुर्तेल १६ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए ।

त्यसपछि आसिफ शेख पाँचौ ओभरमा ९ र कप्तान रोहित पौडेल नवौँ ओभरमा ६ रनमा आउट भए । आक्रमक देखिएको नेपालले लगातार विकेट गुमाउने क्रम रोकिएन । ११औ ओभरमा सन्दिप जोरा ५ रनमा आउट हुँदा नेपाल ७७.५ को नाजुक अवस्थामा पुगेको थियो । तर कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले शतकिय साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले ।

छैटौं विकेटका लागि यो जोडीले १०० रनको साझेदारी गरेपछि कुशल मल्ल आउट भए । उनलाई वाटले हम्जा ताहिरबाट क्याचआउट गराए । छैटौं विकेटका लागि ओडिआईमा नेपालको यो दोस्रो शतकिय साझेदारी हो । यसअघि गत जुनमा लिग टु मै अमेरिका विरुद्ध आरिफ सेख र सोमपाल कामीले १०६ रनको साझेदारी गरेका थिए ।

६७ बल खेलेका कुशल मल्लले ९ चौका र ४ छक्का मद्दतमा ८१ रन बनाए । कुशल मल्ल आउट भएपछि दीपेन्द्रले गुल्शन झा सँग मिलेर इनिङ्स अघि बढाए । दीपेन्द्र र गुल्शनले ४३ रनको साझेदारी गरे । गुल्शनले १७ रन जोडे । दीपेन्द्रले सोमपाल कामीसँग मिलेर नेपाललाई जितसम्म पुर्याए । यो जोडीले आठौं विकेटका लागि अविजित ५५ रनको साझेदारी गरे । सोमपालले ३२ बल खेल्दै ३ चौका मद्दतमा अविजित २४ रन बनाएका थिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदान माइकल लिस्को शतक मद्दतमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७४ रन बनाएको थियो ।