नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

सेनाले बनाईदियो ओखलढुङ्गामा ऐतिहासिक संग्रहालय, आजै उद्घाटन र हस्तान्तरण

 ओखलढुङ्गान्युज फागुन, ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारमा नेपाली सेनाको अरिदम गणले ऐतिहासिक संग्रहालय निर्माण गरेको छ । ऐतिहासिक संग्रहालयको निर्माण कार्य सम्पन्न गरेर शुक्रबार (आज) उद्घाटनसँगै नेपाली सेनाले संग्रहालय सिद्धिचरण नगरपालिकालाई औपचारिक रुपमा नै हस्तान्तरण गरेको हो ।

राष्ट्रनायक पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको बेला प्रयोग गरेका हतियार तथा अन्य पुरातात्विक सामग्रीहरु संरक्षण गर्ने उद्देश्यले संग्रहालयको निर्माण गरेको नेपाली सेनाको अरिदमन गणका निमित्त गणपति गणेश खत्रीले जानकार दिए । समग्रमा ओखलढुङ्गा जिल्लाको इतिहास, किरातकाल, शाहकाल, गढीहरुको साथमा जातजाति भेषभूषाबारे बुझ्न संग्रहालयले सहयोग गर्ने सेनाले जनाएको छ । नेपाली सेनाको शीघ्र प्रभाव कार्यान्वयन आयोजना अन्तर्गतको २० लाख बजेटमा अरिदमन गणको नेतृत्वमा संग्रहालय निर्माण सम्पन्न भएको हो ।

निर्माण सम्पन्न भएको संग्रहालयको नेपाली सेनाको १८ नं. बाहिनीपति सहायक रथी सन्तोषराज पाण्डेले उद्घाटन गरेका थिए । संग्रहालय उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका बाहिनीपति सहायक रथी पाण्डेले संग्रहालय सिद्धिचरण नगरपालिकालाई बरबुझारथ गरेका छन् ।

संग्रहालयमा ओखलढुङ्गाको ऐतिहासिकतासँगै प्राचीन संस्कृति परम्परासँग जोडिएको विभिन्न सामाग्रीहरुको साथमा भेषभूषा समेत संग्रहालयमा राखिएको छ । संग्रहालयमा बन्दुक, तरबार, खुँडा, भाला जस्ता पुराना ऐतिहासिक हातहतियारहरु स्थानीयबासीसँग संकलन गरि राखिएको सेनाले जनाएको छ । त्यस्तै लोपोन्मुख हुन लागेका ढकन, तुलो, चिलिम डन्डी जाँतो, टुकी, धिप्रि, कपडा बुन्ने तानदेखि चर्खा, ढडिया (ढोक्सा) जस्ता दर्जनौ प्रकारका सामाग्री समेत संग्रहालयमा राखिएको छ ।

हस्तान्तरण गरिएको संग्रहालय बुझ्दै सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले तत्कालै संग्रहालय सञ्चालन कार्यविधि निर्माण गरि यसलाई औपचारिक रुपमा सञ्चालन गर्ने बताए । नगर प्रमुख खनालले संग्रहालयको व्यबस्थापनका लागि केहि समय लाग्ने र कार्यबिधी समेत नबनिसकेको अबस्थामा केहि समय भने सेनाकै जिम्मामा व्यवस्थापनको लागि अनुरोध समेत गरे ।

ओखलढुङ्गाको रुम्जाटारको माटोमा जन्मिएका प्रमुख सेनानी गौरव गुरुङको विशेष पहलमा रुम्जाटारमा संग्रहालय निर्माण सम्पन्न भएको हो । नेपाली सेनाले काम सुरुवात गरेको करिब तीन महिनाकै अवधिमा संग्रहालय निर्माण सम्पन्न भएको छ । ओखलढुङ्गामा रहेको नेपाली सेनाको अरिदमन गणका गणपति प्रमुख सेनानी इमेश मेहर श्रेष्ठको नेतृत्वमा संग्रहालय निर्माण कार्य सम्पन्न भएको हो ।