नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

चिशंखुगढी दोश्रो अध्यक्षकप भलिवल प्रतियोगिताको उपाधी आयोजक कै कब्जामा

ओखलढुङ्गान्युज । ४ फागुन, चिशंखुगढी । चिशंखुगढी गाउँपालिकामा विहिबार सम्पन्न दोश्रो अध्यक्षकप भलिवल प्रतियोगिताको उपाधी आयोजक चिशंखुगढी गाउँपालिकाले नै जितेको छ । प्रतिष्पर्धात्मक खेलमा खोटाङको रावाबेसी गाउँपालिकालाई ३–१ सेटमा पराजित गर्दै आयोजक चिशंखुगढी गाउँपालिकाले उपाधी जित दर्ता गरेको हो ।

आयोजक चिशंखुगढीले रावाबेसी गाउँपालिकालाई २५–१६, २२–२५, २५–१८ र २५–१८ को सेटमा पराजित गरेको हो । प्रतियोगितामा जित निकाल्दै आयोजक चिशंखुगढी गाउँपालिकाले नगद रु १ लाख ५५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोश्रो भएको रावाबेसी गाउँपालिकाले १ लाख ११ जार १ सय ११ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा बेष्ट प्लेयर चिशंखुगढीका हरि अधिकारी घोषित भएका थिए । उनले नगद रु ७ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरि प्रतियोगितामा वेष्ट क्विक स्पाईकर चिशंखुगढीका हरि अधिकारी, बेष्ट डिफेन्डर रावाबेसीका योगेश राई, बेष्ट सर्भर मोलुङका शंखर तामाङ, बेष्ट ओपन सुटर रावाबेसीका राजकुमार निरौला घोषित भए ।

त्यसैगरि बेष्ट लिफ्टर चिशंखुगढीका हरिहजुर थापा, बेष्ट ब्लकर चिशंखुगढीका द्वारिका थापा, अनुशासित खेलाडी मोलुङका अर्जुन तामाङ र बेष्ट कोचको उपाधी चिशंखुगढीका भुवन माझीले जितेका छन् । उनीहरुले क्रमश नगद रु ५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका विजेताहरुलाई गाउँपालिकाका प्रमुख निशान्त शर्मा, उपप्रमुख सन्तोषबाबु थापा, प्रमुख प्रशासकिय अधिकृत लोकमणी खनाल लगायतका अतिथिहरुले शिल्ड, मेडल, ट्रफि, प्रमाणपत्रका साथै नगद पुरस्कार प्रदान गरेका थिए ।

यसअघि विहिबार दिउसो नै तेश्रो स्थानका लागि भएको खेलमा मोलुङ गाउँपालिका विजयी भएको थियो । मोलुङले आफ्नो प्रतिद्वन्द्वी ऐसेलुखर्क गाउँपालिकालाई प्रतिष्पर्धात्मक खेलमा ३–२ सेटमा हराउदै तेश्रो भएको हो । तेश्रो स्थानका लागि भएको निकै प्रतिष्पर्धात्मक खेलमा मोलुङले ऐेसेलुखर्कलाई २५–२१, १७–२५, १९–२५, २५–९ र १५–११ को सेटमा पराजित गरेको हो ।

प्रतियोगितामा तेश्रो हुदै मोलुङ गाउँपालिकाले नगद रु ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै खेलमा मोलुङसँग हारेर चौथो बनेको ऐसेलुखर्क गाउँपालिकाले नगद रु ३३ हजार ३ सय ३३ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरको छ ।