नेपाली समय Loading...२०८१ जेष्ठ १ मंगलवार

चिशंखुगढी दोश्रो अध्यक्षकप भलिवलको फाईनलमा रावाबेसी र चिशंखुगढी भिड्ने

ओखलढुङ्गान्युज फागुन, ओखलढुङ्गा चिशंखुगढी गाउँपालिकामा जारी दोश्रो चिशंखुगढी अध्यक्ष कप भलिबल प्रतियोगिताको फाईनलमा खोटाङको रावाबेसी गाउँपालिका र आयोजक चिशंखुगढी गाउँपालिका भिड्ने भएका छन् । आज बुधबार भएको सेमिफाईनल खेलमा आयोजक चिशंखुगढीले मोलुङ गाउँपालिका र खोटाङको रावाबेसी गाउँपालिकाले खोटाङ कै ऐसेलुखर्क गाउँपालिकालाई हराउदै फाईनलमा पुगेका हुन् ।

आफ्नो सेमिफाईनल खेलमा पराजित हुदै मोलुङ गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिका विहिबार तेश्रो स्थानका लागि भिड्ने भएका छन् । प्रतियोगिता अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा चिशंखुगढीका हरिहजुर थापा र दोश्रो खेलमा ऐशेलुखर्कका रोशन वि.क. म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिताको लिग चरणको खेलमा टिम ए को पोल विजेता हुदै चिशंखुगढी र उपविजेता हुदै ऐशेलुखर्क गाउँपालिका सेमिफाईनलमा प्रबेश गरेका थिए । त्यस्तै टिम बी बाट पोल विजेता हुदै रावाबेसी गाउँपालिका र उपविजेता हुदै मोलुङ गाउँपालिका सेमिफाईनलमा प्रबेश गरेका थिए ।

सेमिफाईनल खेलमा सोझो तिन सेटमा मोलुङ गाउँपालिकालाई पराजित गर्दै चिशंखुगढी गाउँपालिका फाईनलमा प्रबेश गरेको हो । चिशंखुगढीले मोलुङलाई २५–१५, २५–१९ र २५–१७ को सेटमा पराजित गरेको थियो । त्यस्तै सेमिफाईनलको दोश्रो खेलमा खोटाङको रावाबेसी गाउँपालिकाले ऐसेलुखर्क गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै फाईनलमा आफ्नो स्थान पक्का गरेको हो । रावाबेसीले ऐसेलुखर्कलाई १८–२५, २५–१९, २५–१९ र २५–२० को सेटमा पराजित गरेको थियो । 

प्रतियोगिताको फाईनल खेल विहिबार हुनेछ । प्रतियोगितामा विजेता हुने टीमले १ लाख ५५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दोश्रो हुने टिमले नगद रु १ लाख ११ हजार १ सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा तेश्रो हुनेले नगद रु ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सान्त्वना हुने टिमले पनि ३३ हजार ३ सय ३३ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ७ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।