नेपाली समय Loading...२०८१ जेष्ठ १ मंगलवार

मानेभञ्ज्याङको उँवुमा भिषण आगलागी, आगलागी नियन्त्रण बाहिर

फायल तस्विर

ओखलढुङ्गान्युज फागुन, मानेभञ्ज्याङ जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. २ उँवुमा भिषण आगलागी भएको छ । उँवुमा रहेको फोकुल सामुदायीक वनमा मंगलवार बेलुकी देखी लागेको आगो नियन्त्रणमा लिन नसक्दा जंगलका हजारौ बोटविरुवासँगै जंगली जिव जनावरहरु मरेका छन् ।

मंगलबार बेलुकी देखी सामुदायीक वनमा आगलागी भएको भएपनि बुधबार साँझ ५ बजेसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन । स्थानीय नागरिकहरुले बुधबार विहानै देखी उँबुको साबिकको वडा नं. १  तर्फ आगो निभाएको भएपनि हाल साविकको वडा नं. ३ र ९ तर्फ तिब्र गतिमा आगो फैलिएको त्यहाँबाट स्थानीय शिक्षक महाजित राईले जानकारी दिए ।

हाल आगो फैलदै गएको वडा नं. ३ र ९ तर्फ बाक्लो मानवबस्तीका घरहरु रहेकोले आगो नियन्त्रण नभए ठूलो क्षति हुने आकलन गरिएको छ । आगलागि फैलिएसँगै नियन्त्रणका लागि स्थानीयवासीहरु विहानै देखी लागि परिरहेका छन् । स्थानीयहरुको पहलमा मात्र आगो नियन्त्रणमा नआएपछि स्थानीयले जिल्लाका सुरक्षा निकायसँग सहयोग माग गरेका छन् ।

स्थानीयहरुले आग्रह गरेपछि आगो नियन्त्रण र मानववस्तिका घरहरुलाई बचाउन प्रहरी चौकी मानेभञ्ज्याङ्ग, जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गावाट सिद्धिचरण नगरपालिकाको दमकल सहितको प्रहरीको टोली घटनास्थल तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । प्रहरीको टीमसँगै आगो नियन्त्रणका लागि मानेभञ्ज्याङ्गमा तालिममा रहेको नेपाली सेनाको अरिदमन गणको टिम पनि आएको शिक्षक राईले बताए ।