नेपाली समय Loading...२०८१ जेष्ठ १ मंगलवार

भलिवलको विजेता टोलिलाइ जिल्लामा सम्मान

ओखलढुङ्गान्युज । २३ माघ, ओखलढुङ्गा । गत माघ १८ देखि २१ गते सम्म संखुवासभा जिल्लामा सन्चालन भएको प्रदेश नं. १ स्तरीय तेश्रो रेजिना रनिङ शिल्ड भलिबल प्रतियोगिताको विजेतालाई ओखलढुङ्गामा सम्मान गरिएको छ ।

शोमबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै जिल्लाको सिद्धिचरण नगरपालिका र जिल्ला भलिबल संघ ओखलढुङ्गाले नगद पुरस्कार सहित सम्मान गरेको हो । औपचारिक कार्यक्रम मार्फत खेलाडीहरुलाई जिल्ला भलिबल संघको तर्फबाट जनही नगद ११ हजार र नगरपालिकाको तर्फबाट जनही ५ हजार सहित सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले नगरपालिकाको सिमित बजेटले पनि खेलकुद क्षेत्रको विकासमा सहयोग गरेको बताए । खेलाडी उत्पादन तथा उनीहरुको विकासको लागि आगामी दिनमा नगरपालिकाले योजना तथा कार्यक्रम बनाएर बजेट विनियोजन गर्ने बताए ।

सम्मान कार्यक्रममा जिल्ला भलिबल संघ ओखलढुङ्गाका अध्यक्ष रुपलाल तामाङले जिल्लामा राम्रो खेलाडीहरु उत्पादन भै बाहिरी जिल्लामा गएर उत्कृष्ट प्रदर्शनका साथ पुरस्कार जित्न सफल भएको बताए । तर जिल्ला भित्र नै भने खेलाडीहरुलाई प्रोत्साहन हुने गरि कुनै पनि बजेट विनियोजन तथा खेलकुद कार्यक्रम हुन नसकेकोमा दुःख ब्यक्त गरे । खेलाडीहरुको बारेमा केहि नसोच्ने हो भने बाच्न कै लागि भएपनि खेलाडी विदेशीन बाध्य हुनुपर्ने समस्या नटरेको बताए ।

त्यस्तै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रवीण श्रेष्ठले खेलकुद र खेलाडीका बारेमा सरकारले जति बोलेपनि बोली अनुसार कुनै पनि संघ, प्रदेश तथा स्थानीय सरकारले ध्यान नदिएको बताए । खेलकुदका क्षेत्रमा ध्यान नदिँदा र बजेट विनियोजन नहुँदा खेलाडी उत्पादन तथा भएकोलाइ पनि टिकाउन धौधौ भएको बताए । आगामी दिनमा भने खेलकुद क्षेत्रमा समेत स्थानीय सरकारको बजेट विनियोजन हुनुपर्नेमा श्रेष्ठले जोड दिए ।

विजेता भएर जिल्ला आइपुगेको टोलीलाइ आइतबार नेकपा एमालेको भातृ संगठन युवासंघ नेपालले पनि नगद सहित सम्मान गरेको थियो । आफुहरुले जितेर ल्याएको शिल्डलाइ खेलाडीहरुले जिल्ला भलिवल संघलाई हस्तान्तरण समेत गरेका छन् ।