नेपाली समय Loading...२०८१ जेष्ठ १ मंगलवार

तेश्रो रेजिना रनिङ शिल्ड भलिबलको उपाधी ओखलढुङ्गालाई

ओखलढुङ्गान्युज २१ माघ, विराटनगर । गत माघ १८ देखी संखुवासभा जिल्लाको खाँदवारीमा आयोजित तेश्रो रेजिना रनिङ शिल्ड भलिबलको उपाधी ओखलढुङ्गाले जितेको छ । शनिवार सम्पन्न भएको फाईनल खेलमा आफ्नो प्रतिद्वन्द्वी भोजपुरलाई ३–१ सेटमा पराजित गर्दै उपाधी जितेको हो ।

उापधीमा कब्जा जमाउदै ओखलढुङ्गाले नगद रु १ लाख ११ हजार १ सय ११ सहित २१० तोला चाँदीको शिल्ड, ३–३ तोलाको मेडल हात पारेको छ । त्यस्तै दोश्रो स्थानमा चित्त बुझाउदै भोजपुरले नगद रु ५५ हजार ५ सय ५५ सहित शिल्ड र मेडल तथा गत वर्ष भएको दोश्रो संस्करणको विजेता झापाले नगद रु ३३ हजार सहित शिल्ड र मेडल प्राप्त गरेको छ ।

शनिवार दिउसो करीब २ बजे देखि भएको प्रतिष्पर्धात्मक फाईनल खेलमा ओखलढुङ्गाले आफ्नो प्रतिद्वन्द्वी भोजपुरलाई २५–१८, २६–२८, २५–२१ र २५–१७ को सेटमा हराउदै उपाधी जितेको हो । त्यस्तै विहान ११ बजे तेश्रो स्थानका लागि भएको खेलमा सोझो ३–० को सेटमा खोटाङलाई हराउदै गत वर्षको विजेता झापा तेश्रो भएको हो । फाईनल खेलमा ओखलढुङ्गाका जर्सी नं. ८ का खेलाडी शंकर तामाङ म्यान अफ दी म्याच खेलाडी घोषित भएका थिए ।

चारदिन सम्म सञ्चालन भएको प्रतियोगिताको गेम अफ दी टुर्नामेन्ट (वेष्ट प्लेयर) ओखलढुङ्गाका जर्सी नं. २ का खेलाडी एवम् ओखलढुङ्गाका टीम क्याप्टेन समिप श्रेष्ठ बन्न सफल भएका छन् । समिप प्रतियोगिताको अबधीभर नै आफ्नो खेलमा सबै दर्शक तथा अतिथीहरुको मन जित्न सफल बनेका थिए ।

प्रतियोगिताको विषयगत बिधा तर्फ बेष्ट स्पाईकर ओखलढुङ्गाका जर्सी नं. ३ का खेलाडी हरि बहादुर अधिकारी बन्न सफल भएका छन् । त्यस्तै वेष्ट ब्लकर ओखलढुङ्गाका जर्सी नं. १ का द्वारीका थापा र वेष्ट सेटर जर्सी नं. १० ओखलढुङ्गाका मनोज घिमिरे बन्न सफल भएका छन् । त्यस्तै वेष्ट सर्भर भोजपुरका बालकुमार रायमाझी, वेष्ट डिफेन्स जर्सी नं. १३, भोजपुरका सन्तोष राई बन्न सफल भएका छन् । विषयगत विधामा उत्कृष्ट बन्नेहरुले शिल्डसँगै नगद रु ५ हजार प्राप्त गरेको थिए ।

प्रतियोगिता सञ्चालनका लागि सबै ब्यबस्थापकिय खर्च सुर्य बोर्डिङ स्कूलका संस्थापक तथा ब्यबस्थापक नारायण कुमार श्रेष्ठले गरेका हुन् । श्रेष्ठले प्रत्येक वर्ष प्रतियोगिताको आयोजना गर्ने गरि २०५३ साल देखी नै आफ्नी छोरी रेजिनाको नाममा ट्रष्टको स्थापना गरेका थिए ।

ट्रष्ट स्थापनाको सुरुवातमा प्रतिगोगिता खुला सामान्य तरिकाले मात्र सञ्चालन गर्ने गरिएको नेपाल भलिवल संघका केन्द्रिय सदस्य एवम् आयोजक समितिका सदस्य प्रविण श्रेष्ठले बताए । त्यसलाई २०७२ सालमा परिमार्जन गर्दै पुरष्कार राशी बृद्धि गरिएको थियो । परिमार्जित प्रतियोगिताको पहिलो संस्करण २०७२ सालमा र दोश्रो संस्करण २०७४ सालमा सञ्चालन गरिएको थियो ।

२०७४ सालपछि विभिन्न कारणले स्थगन भएको प्रतियोगिता २०७९ मा आएर सञ्चालन गरिएको हो । यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिनेगरि तयारी गरिएको श्रेष्ठले बताए । प्रतियोगिताको सूर्य बोर्डिङ स्कूलले आयोजना गरेको हो ।