नेपाली समय Loading...२०८१ जेष्ठ ३ बिहीबार

अत्याधिक रक्तश्रावका कारण सोलुखुम्बुमा सुत्केरीको मृत्यु 

ओखलढुङ्गान्युज । २० माघ, सोलुखुम्बु । सोलुखुम्बुमा शुक्रबार बिहान एक सुत्केरीको मृत्यु भएको छ ‌। अत्याधिक रक्तश्राव भएका कारण सुत्केरीको मृत्यु भएको हो ।  

मृत्यु हुनेमा सोताङ गाउँपालिका वडा नं. – ५ की ३० वर्षीया गंगा बस्नेत रहेको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । बिहीबार सोताङ प्राथमिक अस्पतालमै अप्रेशनमार्फत बस्नेतले छोरालाई जन्म दिएकी थिइन् । तर अप्रेसन पश्चात बस्नेतको रक्तश्राव नरोकिएपछि राति नै जिल्ला अस्पताल फाप्लु ल्याइँदै गर्दा उनको बाटैमा मृत्यु भएको अस्पतालले जनाएको छ । 

जिल्ला अस्पतालका निमित्त प्रमुख सानी शेर्पाका अनुसार बस्नेतको प्राथमिक अस्पतालमा अप्रेसन गरि बच्चा निकालिएको थियो । अप्रेसन पश्चात रक्तश्राव सुरु भयो । रक्तश्राव भएको कारण सुत्केरीका लागि रगत खोजियो । तर ‘ओ’ नेगेटिभ रगत आवश्यक परेको सुत्केरीलाई सोताङमा उक्त रक्त समूहको रगत नभेटिएपछि प्राथमिक अस्पतालले जिल्ला अस्पताल फाप्लु रेफर गरेको थियो । 

सुत्केरीलाइ जिल्लाको महाकुलुङ प्राथमिक अस्पतालको एम्बुलेन्समार्फत राति नै सोताङबाट फाप्लु ल्याइदै थियो । तर फाप्लु ल्याउने क्रममा बस्नेतको निरन्तर रक्तश्राव भएपछि बाटैमा ज्यान गएको जिल्ला अस्पताल निमित्त प्रमुख शेर्पाले बताइन् । 

समयमा रगत दिन सकेको भए सुत्केरीको ज्यान बचाउन सकिने जिल्ला अस्पताल फाप्लुले जनाएको छ । शिशुको अवस्था भने अहिले सामन्य रहेको पारिवारिक श्रोतले जनाएको छ ‌।