नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

आज मकर अर्थात माघे संक्रान्ती पर्व

ओखलढुङ्गान्युज । १ माघ, ओखलढुङ्गा । आज मकर अर्थात माघे संक्रान्ती पर्व । नेपालीहरुले मनाउने विभिन्न पर्वहरु मध्ये यो माघे संक्रान्ती पनि एक पर्व हो । आजको दिनलाई मकर संक्रान्ती, माघी पर्व, माघे संक्रान्ती लगायतका विभिन्न नाम समेत दिने गरिन्छ ।

सूर्य धनु राशीवाट मकर राशीमा प्रबेश गर्ने संक्रान्ती भएकोले माघ १ लाई मकर तथा माघे संक्रान्ती भन्ने प्रचलन रहेको छ । आजैदेखि सूर्य उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छ । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।

यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले बताए।

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।