नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

प्रदेश १ मा मुख्य मन्त्री कार्कीले पाए विश्वासको मत

ओखलढुङ्गान्युज २९ पुष, विराटनगर शुक्रबार प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री कार्कीले शुक्रबार प्रदेश सभाको बैठकमा विश्वासको मत लिएका थिए ।

शुक्रबार विश्वासको मत लिने क्रममा ९१ मत खसेको थियो । जसमा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको थियो । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै गर्दा कांग्रेसका एकजना सांसद उपस्थित थिएनन् । नेपाली काँग्रेसका ओखलढुङ्गाबाट निर्वाचित सांसद प्रदिप कुमार सुनुवार विशेष कारणले जिल्ला आएका कारण उपस्थित नभएका हुन् ।

नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्कीलाई गठबन्धनमा आबद्ध ४ दलका ६० जना प्रदेशसभा सदस्यले समर्थन गरेका थिए। कार्की पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाका सांसदहरूले कार्कीलाई समर्थन गर्दै विश्वासको मत दिएका हुन्।