नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

मानेभञ्ज्याङ्गमा मोतिराज राई ग्रामिण आँखा केन्द्रको स्थापना

ओखलढुङ्गान्युज २८ पुष, मानेभञ्ज्याङ्ग जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा मोतिराज राई ग्रामिण आँखा केन्द्रको उद्घाटन गरिएको छ । आँखा केन्द्रको जिल्ला सामुदायीक आँखा केन्द्र ओखलढुङ्गाका अध्यक्ष मोहन कुमार श्रेष्ठ र मानेभञ्ज्याङ्ग गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले संयुक्त रुपमा आज उद्घाटन गरेका हुन् ।

ग्रामिण आँखा केन्द्रको उद्घाटन पश्चात मानेभञ्ज्याङ्ग गाउँपालिकाका पहुँच नभएका नागरिकहरुले पनि सहज र सर्व सुलभ रुपमा आँखा उपचार सम्बन्धिको सेवा लिन सक्नेछन् । पहुँच नभएका नागरिकहरुले पनि पहुँच लिन सक्ने, आँखा सम्बन्धि उपचारका लागि जिल्ला सदरमुकाम सम्म आउन नसक्ने तथा उपचार गर्न सकिने आँखा सम्बन्धिको रोगको उपचार गर्न सहजता पु¥याउने उद्धेश्यले आँखा केन्द्रको स्थापना गरिएको हो ।

आँखाको ज्योति सम्बन्धि समस्या भएको कारणले पनि पढाईमा समस्या भएका बालबालिकाको आँखाको उपचारमा समेत सहजता बनाउने उद्धेश्यले आँखा केन्द्रको स्थापना गरिएको जिल्ला सामुदायीक आँखा केन्द्र ओखलढुङ्गाका प्रमुख टिका राईले जानकारी दिईन् । राईका अनुसार आँखा केन्द्र मार्फत स्थानीय नागरिकहरुले आँखा जाँच, चस्मा सम्बन्धी सेवा, आवश्यक औषधी व्यबस्था तथा आँखा सम्बन्धी समस्याको बारेमा परामर्श सेवा पाउनेछन् ।

गाउँपालिकाका संस्थापक अध्यक्ष मोतिराज राईले आँखा केन्द्रको नाममा ३ लाखको अक्षयकोषको समेत स्थापना गरेका छन् । अक्षयकोषको व्यबस्था गरेको कारण आँखा केन्द्रको नाम मोतिराज राई ग्रामिण आँखा केन्द्र मानेभञ्ज्याङ्ग नामाकरण गरिएको पनि जिल्ला सामुदायीक आँखा केन्द्र ओखलढुङ्गाका प्रमुख राईले बताईन् । अक्षयकोषको पहिलो किस्ता बापतको १ लाख रुपैया पूर्व अध्यक्ष राईले आजै आँखा केन्द्रलाई उपलब्ध गराएका छन् । आँखा केन्द्रको स्थायीत्वका लागि आफूले अक्षयकोषको स्थापना गरेको राईले बताए ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं, जिल्ला सामुदायीक आँखा केन्द्र ओखलढुङ्गा र मानेभञ्ज्याङ्ग गाउँपालिकाको संयुक्त पहल तथा सहकार्यमा आँखा केन्द्रको स्थापना गरिएको हो । ग्रामिण आँखा केन्द्रको उद्घाटन कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौंका कार्यक्रम परियोजना अधिकृत रवि गौतमको समेत उपस्थिती रहेको थियो ।