नेपाली समय Loading...२०८१ जेष्ठ ६ आईतवार

प्रदेश १ को सभामुखमा माओवादीका गौतम सर्वसम्मत

ओखलढुङ्गान्युज । २६ पुष, विराटनगर । प्रदेश नं १ को सभामुखमा नेकपा माओवादी केन्द्रका सर्वसम्मत बनेका छन् । मंगलबार साँझ ५ बजेसम्म सभामुख पदमा उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने कार्यक्रमको समयसीमा भित्र माओवादीका गौतमको एकल उम्मेदवारी परेसँगै सर्वसम्मत सभामुख बनेका हुन् ।

एकिकृत समाजवादीको समेत समर्थन पाएका गौतमको विरुद्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिएपछि उनको एकल उम्मेदवारी परेको थियो । गौतम ओखलढुङ्गा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । गौतमको प्रस्तावकमा एमालेका रेवती रमण भण्डारी र समर्थकमा एकीकृत समाजवादीका कमल जवेगु, माओवादी केन्द्रका नारायण बुर्जा मगर र राप्रपाका गोपाल बहादुर विश्वकर्मा छन् ।

प्रदेश १ सरकारको मुख्यमन्त्री एमाले र सभामुख माओवादीले पाउने केन्द्रमा भएको सहमति अनुसार गौतम सभामुख बनेका हुन् । गौतम सभामुख बनेसँगै उपसभामुख भने आफ्नो पार्टीलाइ दिन एमालेसँग कांग्रेसले माग गरेको छ । मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता हिकमत कार्कीले भने पार्टी भित्र सल्लाह गरेर निर्णय गर्ने बताएको काँग्रेसका एक सांसदले बताएका छन् ।

९३ जना सांसद रहेको प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छन् । अहिलेकै अवस्था कायम रहिरहे गौतमले ६४ मत प्राप्त गर्नेछन् । एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ५, जसपाका १ र नेकपा एसका ४ गरी ६४ सांसदको समर्थन प्राप्त हुनेछ ।

सभामुखको मनोनयनको समय मंगलबार अपरान्ह ५ बजेसम्म तोकिएको थियो । सभामुखको निर्वाचन भने २८ गते हुनेछ । गौतमको एकल उमेदवारीसँगै सर्वसम्मत भएपनि निर्वाचन प्रक्रिया पश्चात मात्र गौतम सभामुख निर्वाचित भएको घोषणा हुने प्रदेश संसद सचिवालयले जनाएको छ ।