नेपाली समय Loading...२०८१ जेष्ठ ६ आईतवार

प्रदेश नं. १ को मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की नियुक्त, माओवादी सरकारमा नजाने

ओखलढुङ्गान्युज । २५ पुष, विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्कीलाई समर्थन गर्ने माओवादी केन्द्र संसदीय दलले  निर्णय गरेको छ । आइतबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले  उक्त निर्णय गरेको हो

मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई समर्थन गर्ने निर्णय गरेसँगै सत्ता साझेदारीको बारेमा छलफल र निर्णयको जिम्मा दलको नेतालाई दिने निर्णय गरेको छ । माओवादी केन्द्रको निर्णयसँगै एमाले संसदीय दलका नेता कार्कीले आईतवार साँझ प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेर मुख्यमन्त्री समेत बनिसकेका छन् । मुख्यमन्त्रीको सपथग्रहणको कार्यक्रम शोमबार दिउसो २ बजे रहेको छ ।

मुख्यमन्त्रीको सपथग्रहणसगै मन्त्रीमण्डल बनाउने तयारी हुँदैगर्दा नेकपा माओवादी केन्द्र प्रदेश १ ले सरकारमा भने तत्काल सहभागी नहुने बताएको छ । केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र प्रदेश सरकारमा तत्काल सहभागी नहुने भएको हो । जसले प्रदेश नं. १ मा नयाँ तरंग सृजना भएको छ ।

केन्द्रको निर्णयले प्रदेश १ को सिंगो माओवादी पार्टीको अपमान भएको माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । आलोपालोबारे लिखित सहमति नभएसम्म हामी सरकारमा सहभागी नहुने पनि नेता आङ्बोले बताए । मुख्यमन्त्रीमा कार्कीलाई समर्थन गर्नुअघि एमाले र माओवादी दुबै दलका शीर्ष नेताले प्रदेश सरकारमा आलोपालो हुने बताएका थिए ।

तर आईतबार साँझ शीर्ष नेताहरुबीच भएको सहमतिमा मुख्यमन्त्री ५ वर्ष नै एमालेले पाउने उल्लेख भएपछि प्रदेश १ मा माओवादी असन्तुष्ट भएको हो । सरकारलाई दिएको समर्थन भने यथावत रहने माओवादीले जनाएको छ । कार्कीले आज दिउँसो २ बजे शपथग्रहण लगत्तै सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी थियो ।