नेपाली समय Loading...२०८१ जेष्ठ ६ आईतवार

माओवादी केन्द्र संसदीय दलको नेतामा आङ्बो निर्वाचित

ओखलढुङ्गान्युज । १३ पुष, विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश नं. १ संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आङ्बोलाई दलको नेतामा चयन गरेको हो ।

आङ्बो पाँचथर जिल्लाको क्षेत्र नं. २ बाट प्रदेशसभामा निर्वाचित भएका हुन् । माओवादी केन्द्रका प्रदेश नं. १ का ज्येष्ठ सांसद नारायणबहादुर मगरको अध्यक्षतामा बसेको बैठकले आङ्बोलाई सर्वसम्मत नेता चयन गरेको पार्टीका प्रदेश सचिबसमेत रहेका प्रदेशसभा सदस्य गणेश उप्रेतीले जानकारी दिए । संसदीय दलको बैठकमा माओवादी केन्द्रका सचिव तथा प्रदेश १ इञ्चार्ज राम कार्की, पोलिटब्यूरो सदस्य तथा प्रदेशका सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङसमेतको सहभागिता थियो ।

यसअघि दलको नेतामा तेह्रथुम २ बाट निर्वाचित पार्टीका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईंले पनि आकांक्षा राखेको चर्चा थियो । तर, उनले पनि आङ्बोलाई समर्थन गरेका थिए । आर्थिक मामिला तथा योजनामन्त्री रहेका आङ्बो प्रदेश १ को मुख्यमन्त्रीको दावेदार समेत छन् । माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीको दावीसहित गठबन्धनमा छलफल गर्न पार्टीका इञ्चार्ज कार्कीको संयोजकत्वमा समिति समेत बनाएको छ ।