नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

१ सय ६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त

ओखलढुङ्गान्युज १० पुष, काठमाण्डौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेश्रो पटक नेपालका प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । गत मंशिर ४ गते भएको निर्वाचनमा निर्वाचित भएका स्वतन्त्र ३ जना सांसद सहित १ सय ६९ जना सांसदको समर्थनमा आईतवार दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

कुनै पनि एक दलको बहुमत नपुगेको अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार विभिन्न पार्टीका बहुमत सांसदको समर्थनमा प्रचण्डलाई राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रचण्डलाई नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र  गरी एक सय ६९ जना सांसदको समर्थन रहेको छ ।

राष्ट्रपति भण्डारीले यही पुस ३ गते सात दिनको समयसीमा दिइ प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । त्यसको समयसीमा आजै बेलुकी ५ बजे सकिएको हो । समयसीमा अघि नै प्रचण्डले एक सय ६९ सांसदको समर्थनमा दाबी पेस गर्नुभएको थियो ।

प्रचण्ड यसअघि २०६५ र २०७३ मा प्रधानमन्त्री बन्नुभएको थियो । तेश्रो पटक प्रधानमन्त्री बन्नुभएका प्रचण्डको शपथ ग्रहण भने भोलि शोमबार मात्रै गर्ने राष्ट्रपति कार्यालयले तयारी गरेको छ ।