नेपाली समय Loading...२०८१ जेष्ठ ६ आईतवार

ओखलढुङ्गाका २४ जना कृषकलाई कृषि विकास बैंकको किसान कार्ड वितरण

ओखलढुङ्गान्युज पुष, ओखलढुङ्गा जिल्ला कृषि विकास बैंक ओखलढुङ्गा शाखाले जिल्लाका २४ जना कृषकलाई किसान कार्ड वितरण गरेको छ । मंगलबार सदरमुकामको गणेशचोकमा रहेको जनहित गुठीको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रमका विच उक्त किसान कार्ड कृषकहरुलाई वितरण गरेको हो ।

मंगलबार आयोजित औपचारिक कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी तथा प्रदेश नं. १ का निर्देशक रञ्जन खनाल तथा अतिथिहरुले उपस्थित कृषकहरुलाई किसान कार्ड वितरण गरेका हुन् । पहिलो चरणमा कृषि विकास बैंकले ओखलढुङ्गामा ३० जना कृषकहरुलाई किसान कार्ड वितरण गर्ने योजना बनाएको भएपनि २४ जनाको मात्र कार्ड बनेर आएको बैंकका निमित्त प्रमुख रमेश कुमार दाहालले जानकारी दिए ।

नेपाल सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषण मार्फत किसानलाई कृषि एप्स मार्फत सूचना मूलक जानकारी र सहजताका लागि किसान कार्ड दिने सार्वजनिक घोषण गरेको थियो । सोहि कार्यक्रम अन्तर्गत ओखलढुङ्गाका २४ जना कृषकहरुलाई पहिलो चरणमा कृषि विकास बैंक मार्फत किसान कार्ड उपलब्ध गराएको बैंकका उपमहाप्रबन्धक सुवेदीले बताए ।

किसान कार्ड वितरण कार्यक्रममा उद्योग वाणिज्य महासंघ ओखलढुङ्गाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले पहुँच पु¥याउन नसक्ने किसानलाई पनि ऋण उपलब्ध गराउन आग्रह गरेका थिए । सरकारले महिला नेर्तत्वको उद्यमीहरुलाई विना धितो १५ लाख सम्मको ऋण दिने बताएपनि ओखलढुङ्गामा हालसम्म लागू नभएकोले त्यसलाई कृषि विकास बैक मार्फत सुरुवात गर्न आग्रह गरेका थिए । बैंकले वितरण गरेको किसान कार्डको बारेमा पनि किसानहरुलाई अभिमुखीकरणको आवश्यकता रहेको बताएका थिए ।

बैंकका उपमहाप्रबन्धक सुवेदीले किसान कार्ड पाएका कृषकहरुलाई कार्ड कसरी प्रयोग गर्ने भन्ने विषयमा अभिमुखीकरण गरिने बताए । कृषि जन्य सामाग्रीहरु खरिद विक्रिका लागि किसानहरुले नगद बोकेर हिड्दा समस्या र असुरक्षित समेत हुने भएकोले सहजताका लागि नेपाल सरकारले किसान कार्डको विकास गरेको बताएका थिए । किसान कार्ड भएपछि नगद कारोबारमा हुने झण्झटबाट किसान मुक्त हुने सुवेदीको भनाई छ ।

उपमहाप्रबन्धक सुवेदीका अनुसार किसान कार्ड मार्फत किसानहरुले १ लाखसम्मको क्रेडिट कारोबार गर्न सक्नेछन् । त्यसका लागि पहिला बैंकमा ऋण स्विकृत हुन जरुरी हुनेछ । किसान कार्डका आधारमा किसानहरुले खरिद गर्ने कृषि सामाग्रीहरुमा भन्सार छुटको ब्यबस्था पनि सरकारले गरेको छ । पहिलो चरणमा ओखलढुङ्गामा २४ जना कृषकहरुलाई किसान कार्ड उपलब्ध गराईएको भएपनि त्यसलाई क्रमशः विस्तार गरिनेछ ।