नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

निर्वाचनको मौन अबधी सुरु, प्रचार प्रसारमा प्रतिबन्ध

ओखलढुङ्गान्युज । २ मंशिर, काठमाण्डौं । आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत गएराती १२ बजेवाट मौन अबधी सुरुवात भएको छ । निर्वाचनको कसुर तथा सजाय ऐन अनुसार मतदान अगाडीको ४८ घण्टालाई ‘स्थिर समय’ भनिन्छ ।

यस ‘स्थिर समय’ अर्थात मौन अबधीमा कुनैपनि राजनितिक दल वा उमेदवारहरुको पक्षमा कुनैपनि प्रकारको निर्वाचन सामाग्री प्रचार प्रसार गर्न पाईन्न । मंसिर ४ गतेको बिहान ७ देखि अपरान्ह ५ बजेसम्म हुने मतदान अघिको ४८ घण्टा अर्थात् बिहीबार राति १२ बजे मौन अवधि सुरु भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यस मौन अवधिमा राजनितिक दल तथा उम्मेदवारको पक्षमा छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला र गोष्ठी गर्न पाईन्न । यस अबधीमा कुनै पनि माध्यमबाट मत माग्न र निर्वाचन प्रचार गर्न पाइँदैन । मतदानस्थलअघि राखिएका दल तथा उम्मेदवारका प्रचारप्रसार सामग्री पूर्णरूपमा हटाउनुपर्छ ।

आयोगले उम्मेदवार, दल, भ्रातृ संगठनले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन तथा प्रचार सामग्री पूर्ण रूपमा हटाउनुपर्ने बताएको छ । यो अवधिमा सामाजिक सञ्जाल, छापा वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश सूचना प्रचार सामग्रीलगायतलाई लाइक र कमेन्ट गर्न समेत नपाईने व्यबस्था छ ।