नेपाली समय Loading...२०८१ जेष्ठ १ मंगलवार

ओखलढुङ्गामा मतदान अधिकृतहरुलाई तालिम सम्पन्न

ओखलढुङ्गान्युज २७ कातिक, ओखलढुङ्गा आईतवार ओखलढुङ्गामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुका लागि तालिम सम्पन्न भएको छ । आगामी मंशिर ४ गते हुने प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुकालागि शनिवार र आईतवार तालिम सम्पन्न भएको हो ।

तालिममा मतदानको कार्यलाई विश्वसनिय र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन कर्मचारीहरुलाई सैद्धान्तिक तथा व्यबहारिक ज्ञान प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी न्यौपानेले बताए । तालिममा जिल्लाका ८ ओटै स्थानीय तहमा खटिने ३ सय १० जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुले सहभागीता जनाएको जिल्ला निर्वाचन अधिकारी न्यौपानेले जानकारी दिए ।

निर्वाचन अधिकारी न्यौपानेका अनुसार २८ गते देखि मतदान अधिकृतहरुले निर्वाचन सामाग्रीहरु बुझ्नेछन् । आफुले बुझेको सामाग्रीहरु लिएर मंशिर १ गते सम्ममा जिल्लाका सबै मतदान स्थलमा निर्वाचन सामाग्री सहितको निर्वाचनमा खटिने कर्मचारीहरु पुगिसक्ने न्यौपानेको भनाई छ । मतदान स्थलमा पुगेपछि नयाँ मतदाताहरुको परिचय पत्र पनि वितरण हुनेछ ।

मंशिर ४ गते हुने निर्वाचनका लागि ओखलढुङ्गामा १ हजार २ सय २८ जना कर्मचारी परिचालन हुनेछन् । कर्मचारी बाहेक प्रत्येक मतदान केन्द्रमा थप ४ जनाका दरले ३ दिन सम्म स्वयम्सेवक तथा सुरक्षाकर्मी परिचालन हुने पनि न्यौपानेको भनाई छ ।

मंशिर ४ गते हुने निर्वाचनका लागि ओखलढुङ्गामा १ अस्थायी सहित १ सय ५४ मतदान केन्द्र रहेको छ । निर्वाचन २०७९ मा ओखलढुङ्गाका कूल मतदाता १ लाख १७ हजार ८ सय ९७ मध्ये निर्वाचन क्षेत्र नं. १ मा ५६ हजार ७ सय ३३ तथा निर्वाचन क्षेत्र नं. २ मा ६१ हजार १ सय ६४ जना मतदाता रहेका छन् ।

ओखलढुङ्गा सबैभन्दा बढि मतदाता भएको मतदान स्थल मानेभञ्ज्यांग गाउँपालिकाको सन्देश आधारभूत विद्यालय आहाले उँबु (मतदाता संख्या २ हजार ३ सय ४३) तथा सबैभन्दा कम चिशंखुगढी गाउँपालिकाको गहते आधारभूत विद्यालय (मतदाता संख्या ५ सय २८) रहेको छ ।