नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

बुबाआमाको पुण्यतिथिमा जेष्ठ नागरिक दिवा केन्द्रलाई सामाग्री सहयोग

ओखलढुङ्गान्युज । १७ कात्तिक, ओखलढुङ्गा । जिल्लाका एक परिवारका समाजसेवी दाजुभाइले आफ्नो बाबु-आमाको सम्झनामा जेष्ठ नागरिक दिवा केन्द्रलाई विभिन्न सामाग्री सहयोग गरेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ११ को जेष्ठ नागरिक दिवा केन्द्रलाई सोहि स्थानका समाजसेवी फडिन्द्र, भुपदास, बालकृष्ण श्रेष्ठका सपरिवारले आफ्नो बाबु-आमाको सम्झनामा जेष्ठ नागरिकहरुलाई लक्षित गरेर सामाग्री हस्तान्तरण गरेका हुन् ।

श्रेष्ठका परिवारको तर्फबाट आज कातिक १७ गते स्वर्गीय बुबा जनक बहादुर श्रेष्ठको १७ पुण्यतिथि पारेर स्वर्गीय आमा हिरा कुमारी श्रेष्ठको सम्झनामा सामाग्री सहयोग गरेका हुन् ।  स्वर्गीय बुबाआमाको सम्झनामा उनका छोरा तथा बुहारीहरुले यस अगाडि पनि विभिन्न संस्थाहरुमा भौतिक सामाग्रीहरु हस्तान्तरण गर्दै आएका छन् । सोहि सहयोग गर्ने कार्यलाई निरन्तरता दिदै आजपनि सिद्धिचरण नगरपालिका वडा नं. ११ मा रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई विभिन्न सामाग्रीहरु सिद्धिचरण नगरपालिकाका निवर्तमान मेयर मोहन कुमार श्रेष्ठ, बर्तमान उपमेयर केदारबाबु बस्नेत तथा वडा नं ११ का वडा अध्यक्ष विनोद कुमार ताम्राकारको रोहबरमा सामाग्री हस्तान्तरण गरेका हुन् ।

केन्द्रलाई हस्तान्तरण गरेको सामाग्रीहरुमा ठूलो खालको स्टिल दराज १ थान, ३०० लिटरको खानपानी ट्याङ्की, स्टील मग २५ थान, पानी तताउनका लागि ग्याँस चुल्हो १ थान, ग्याँस भरिएको सिलिन्डर १ थान, सिलाबरको कित्ली १ थान र स्टिलको किस्ती १ थान रहेको छ । नगरपालिकाको वडा नं ११ का जनप्रतिनिधिहरु तथा वडा नं ११ को जेष्ठ नागरिक दिवा सेवा केन्द्रका प्रतिनिधिहरुले गरेको अनुरोध अनुसार केन्द्रलाई सामाग्री सहयोग गरेको स्वर्गीय जनक बहादुर / हिरा कुमारी श्रेष्ठका छोरा बालकृष्ण श्रेष्ठले बताए ।