नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

आज कुकुर तिहार

ओखलढुङ्गान्युज । ७ कातिक, ओखलढुङ्गा । आज हिन्दूहरुको महान पर्व तिहार अन्तर्गत कुकुरको पूजा गर्ने दिन । प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाउने प्रचलन छ । सोहि परम्परा अनुसार यो दिन कुकरको पूजा गरी मिठा खानेकुरा ख्वाउने परम्परा छ ।

कुकुरलाई यमराजको दूतको रुपमा मानिएको छ । कार्तिक कृष्ण चतुर्दशीमा कुकुरपूजा गर्दा यमलोक जाँदा यमराजको द्वारपालका रूपमा रहेका ‘श्याम’ र ‘सबल नामका दुई कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ । त्यसैले पनि कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजागर्ने गरिएको किंबदन्ती छ ।

मानिसका लागि उपयोगी मानिएका जीवजन्तुलाई सम्मान गर्ने परम्परा अनुरूप कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने विधान रहेको धर्मशास्त्री डा. रामचन्द्र गौतमको भनाई छ । मालिकप्रति सधैँ बफादार रहने, खतरा आइपरे संकेत गराउने, शत्रुबाट जोगाउनेजस्ता गुण कुकुरमा छन् ।

सुँघ्नसक्ने उच्च क्षमताका कारण सुरक्षा निकायले गम्भीर प्रकृतिका अनुसन्धानमा कुकुर प्रयोग गर्छन् । अपराधी पहिचान गर्नदेखि मानिसले गर्न नसक्ने जोखिमयुक्त कामका लागि पनि कुकुरकै प्रयोग हुँदै आएको छ। बहुगुणी भएका कारण कुकुरको पूजा गरिएको धर्मशास्त्री  गौतमको भनाइ छ।