नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

ओखलढुङ्गामा एक महिला सहित २५ जनाको उमेदवारी दर्ता, को को बने उमेदवार ?

ओखलढुङ्गान्युज २३ असोज, ओखलढुङ्गा आगामी मंशिर ४ गते हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनका लागि आईतवार भएको उमेदवार मनोनयन दर्ता ओखलढुङ्गामा पनि शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आईतबार सम्पन्न उमेदवार मनोनयन दर्तामा प्रतिनिधी सभामा १ सिट र प्रदेश सभामा २ सिट रहेको ओखलढुङ्गामा प्रतिनिधी सभा तथा प्रदेश सभामा गरि २५ जनाले उमेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधी सभा सदस्यतर्फ १ सिट रहेको ओखलढुङ्गामा एक महिला सहित १० जनाले उमेदवारी मनोनयन दर्ता गरेका छन् । प्रतिनिधी सभा सदस्य पदमा २०७४ सालको प्रतिनिधी सभाको चुनावमा समेत चुनावी प्रतिष्पर्धामा चिर प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका उमेदवार रामहरि खतिवडा र नेकपा एमालेका यज्ञराज सुनुवार यसपटक पनि चुनावी प्रतिष्पर्धामा होमिएका छन् । ०७४ को प्रतिनिधी सभा सदस्यको निर्वाचनमा एमाले र माओवादी केन्द्रका विच चुनावी तालमेल हुदा एमालेका सुनुवारले कांग्रेसका खतिवडालाई करिब ६ हजार ५ सय मतान्तरले पराजित गरेका थिए । यसपटक भने माओवादी केन्द्रले कांग्रेससँग रहेर चुनावी गठबन्धन गरेको छ ।

प्रतिनिधी सभा सदस्यका लागि को को बने उमेदवार ?

आगामी मंशिर ४ गते हुने प्रतिनिधी सभा सदस्य पदका लागि ओखलढुङ्गावाट महिला उमेदवार शोभा कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फवाट उमेदवारी दिएकी हुन् । कार्कीसँगै नेपाली कांग्रेसका रामहरि खतिवडा, नेकपा एमालेका यज्ञराज सुनुवार, नेकपा एकिकृत समाजवादीका योगेन्द्र बस्नेत, जनता समाजवादी पार्टी नेपालका जुद्ध बहादुर राई, मंगोल नेशनल अर्गनाईजेशनका विर्ज बहादुर थापा मगर, नेपाल मजदुर किसान पार्टीका कुमार तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिक प्रसाद वास्तोला, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ङिमा ल्हमु शेर्पा र स्वतन्त्र हर्क बहादुर खड्का प्रतिनिधी सभा सदस्य पदका लागि चुनावी प्रतिष्पर्धा गर्न उमेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभामा को को बने उमेदवार ?

प्रदेश सभा तर्फ पनि यसपटक रोचक प्रतिष्पर्धा हुने देखिएको छ । प्रदेश सभा निर्वाचन तर्फ निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका प्रदिप कुमार सुनुवार, नेकपा एमालेका अम्बिरबाबु गुरुङ, नेकपा एकिकृत समाजवादीका देवराज दाहाल, जनता समाजवादी पार्टी, नेपालका खेमराज खड्का, नेपाल मजदुर किसान पार्टीका नवराज खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका सानुराम दाहाल, मंगोल नेशनल अर्गनाईजेशनका लाक्पा शेर्पाले उमेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा निर्वाचन अन्तर्गत निर्वाचन क्षेत्र नं. २ मा  नेकपा माओवादी केन्द्रवाट बाबुराम गौतम, नेकपा एमालेका ज्ञान बहादुर खड्का, मंगोल नेशनल अर्गनाईजेशनका बुद्धिमान राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका पुष्पराज पोख्रेल, जनता समाजवादी पार्टी, नेपालका शान्त बहादुर बि.क., नेकपा एकिकृत समाजवादीका कमल बहादुर खड्का, हाम्रो नेपाली पार्टीका हिरा बहादुर कटवाल र स्वतन्त्रवाट टंकनाथ अधिकारीले उमेदवारी दर्ता गराएका छन् ।