नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

चिशंखुगढी गाउँपालिका : स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दा

ओखलढुङ्गान्युज २६ बैशाख, ओखलढुङ्गा स्थानीय तहको निर्वाचन बैशाख ३० नजिक आई सकेको छ । स्थानीय तहको निर्वाचन नजिक आउदै गर्दा स्थानीय तहहरुमा राजनीतिक दल तथा उमेद्वारहरुले आफ्नो निर्वाचन प्रचार प्रसारलाई तिब्रता दिएका छन् । त्यस्तै स्थानीय तहको निर्वाचन प्रचारप्रसार तथा मतदाता घरदैलो भेटघाटमा चिशंखुगढी गाउँपालिकाका उमेद्वारहरु पनि लागि रहेका छन् ।

यसै सन्दर्भमा आउदो स्थानीय तहको निर्वाचनमा चिशंखुगढीलाई नागरिक र राजनीतिक दलले पनि उच्च विन्दुमा राखेर हेरिरहेका छन् । त्यहाँ गाउँपालिकाको अध्यक्ष पदमा प्रथम निर्वाचित पालिका अध्यक्ष निशान्त शर्मा नै उमेद्वार बनेका छन् । शर्मालाई एमालेका अशोक थापा र नेकपा एकिकृत समाजवादीका सारदा निरौलाले टक्कर दिने प्रयास गरिरहेका छन् । तथापी कांग्रेससँगको गठबन्धनकका कारण शर्मा आफूले जित्नेमा ढुक्क देखिन्छन् ।

स्थानीय तहको निर्वाचन २०७४ मा निवर्तमान अध्यक्ष शर्माले आफ्ना मुख्य प्रतिद्वन्द्वीलाई मात्र ३ मतले पछि पार्दै विजयी भएका थिए । त्यहाँ कुन् पार्टीको अबस्था कस्तो थियो भनेर यहाँ तथ्यांक प्रस्तुत गरिएको छ ।

चिशंखुगढी गाउँपालिका

चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा आफ्नो मुख्य प्रतिष्पर्धीलाई मात्र ३ मतले पछि पार्दै नेकपा माओवादी केन्द्रका निशान्त शर्मा विजयी भएका थिए । अध्यक्ष पदमा शर्माले १ हजार ९०६ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका भिम बहादुर थापा मगरले १ हजार ९०६ मत ल्याएका थिए । पहिलो चरणको मतगणनामा शर्मा १ मतले मात्र विजयी भएका थिए । तर प्रतिपक्षी उमेद्वारले पुन मतगणना गर्न माग गरेर मतगणना पुन गर्दा शर्मा ३ मतले विजयी भएको मतदान अधिकृतको कार्यालयले घोषणा गरेको थियो ।

त्यस्तै उपाध्यक्ष पदमा भने एमालेका सुष्मिका राई निर्वाचित भएकी थिईन् । निर्वाचित राईले २ हजार ७३ मत पाएकी थिईन । उनका प्रमुख प्रतिद्वन्द्वी कांग्रेसकी खिनामाया आलेमगरले १ हजार ९६९ मत पाएकी थिईन् । माओवादी केन्द्रकी बाल कुमारी तामाङले भने १ हजार ४२१ मत पाएकी थिईन ।

वडा नं. १ मा वडा अध्यक्ष पदमा माओवादी केन्द्रका उषक कटवालले ३८३ मतका साथ विजयी बनेका थिए । वडा अध्यक्ष पदमा त्यहाँ कांग्रेसका गोविन्द कोईरालाले १८८ र एमालेका मेखजंग राईले १७४ पाएका थिए ।

वडा नं. २ मा पनि माओवादी केन्द्रका नेता नरेन्द्र बस्नेत आफ्नो प्रतिष्पर्धीलाई ठूलो मतान्तरले पछि पार्दै विजयी बने । माओवादीका बस्नेतले ३९४ मत ल्याएका थिए । त्यस्तै त्यहाँ कांग्रेसका एकनारायण श्रेष्ठले १६९ तथा एमालेका हेम कुमार घिमिरेले ७८ मत पाएका थिए ।

पालिकाको वडा नं. ३ मा कांग्रेसका गंगा श्रेष्ठ निर्वाचित भए । ओखलढुङ्गाका स्थानीय तहको निर्वाचन २०७४ मा कम उमेरमा नै वडा अध्यक्ष बन्ने उनी पहिलो हुन् । गंगा २३ वर्षको उमेरमा नै वडा अध्यक्षमा निर्वाचित बने । उनी ४६३ मतका साथ विजयी बनेका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका देवराज श्रेष्ठले ३११ र एमालेका भक्त बहादुर थापाले १४९ मत पाएका थिए ।

वडा नं. ४ मा माओवादी केन्द्र कै हिमाल राई अध्यक्ष पदमा निर्वाचित भए । राई २२६ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचि भएका हुन् । उनका प्रतिष्पर्धी कांग्रेसका गणेश कोईरालाले २१५ तथा एमालेका दिप बहादुर बस्नेतले १६९ मत पाएका थिए ।

वडा नं. ५ मा कांग्रेसका प्रकाश कुमार कार्की ३२८ मत ल्याएर विजयी बने । वडा नं. ५ मा एमालेका केशव भट्टराईले ३०१ र माओवादी केन्द्रका तिलक बहादुर मगरले ३८ मत मात्र पाएका थिए ।

वडा नं. ६ भदौरेमा एमालेका कृष्ण बहादुर क्याप्छाकी मगर ४२८ मतका साथ विजयी बने । भदौरेमा उनका प्रतिष्पर्धी माओवादी केन्द्रका मोहन कुमार कार्कीले १६१ र कांग्रेसका पुष्पराज कार्कीले ४२ मत पाएका थिए ।

त्यसैगरि वडा नं. ७ माम्खामा एमालेका तुल विक्रम कार्की २४० मत प्राप्त गरेर विजयी बने । माम्खामा २०७४ को स्थानीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मुगाधन राईले १७३ तथा माओवादी केन्द्रका सरोज कुमार राईले ४२ मत पाएका थिए ।

उता वडा नं. ८ मा पनि नेकपा एमालेका केशर बहादुर बस्नेत विजयी बने । उनले २९७ मत पाएका थिए । त्यहाँ कांग्रेसका होम बहादुर कार्कीले २८९ तथा माओवादी केन्द्रका सुवास केसीले ८१ मत पाएका थिए ।

यसरी स्थानीय तहको निर्वाचन २०७४ को मत परिणामलाई फर्केर हेर्दा यसपटकको निर्वाचनमा पनि पालिकाका हरेक वडाहरुमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । स्थानीय नागरिक र राजनीतिक दलहरुले पनि पालिका अध्यक्ष पदमा निशान्त शर्मा नै दोहोरिने आकलन गरेका छन् । तर आगामी निर्वाचनमा वास्तविक रुपमा मतपरिणाम के आउला ? त्यो चाहि निर्वाचनको मतपरिणामले नै देखाउनेछ ।