नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

लिखु गाउँपालिकालाई स्थानीय निर्वाचन २०७४ मा फर्केर हेर्दा

ओखलढुङ्गान्युज २५ बैशाख, ओखलढुङ्गा स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा चुनावी हिसाब किताव हुन थालेको छ । चुनावी हिसाब भएपछि स्थानीय तहको चुनाव मत परिणाम उल्टने सक्ने सम्भावना पनि उतिकै देखिएको छ । चुनाव जित्ने दम्भ सहित स्वतन्त्रको उमेदवारी दर्ता गरेका लिखुका उमेद्वारहरुले माउ पार्टीको दबाब सहन गर्न नसक्दा पछिल्लो चरणमा पुरानै माउ पार्टीलाई समर्थन गरेको जनाएका छन् ।

केहि दिन अगाडी मात्रै लिखुमा नेपाली कांग्रेसको गाउँपालिकाको अध्यक्षमा वागी उमेद्वारी दिएका राजन सुवेदीले कांग्रेसका आधिकारीक उमेद्वारी दिएका अशोक कार्कीलाई समर्थन गरेको सामाजिक सञ्जालमा लेखे । त्यस्तै नेकपा एमालेको गाउँपालिकाको उपाध्यक्ष पदमा बागी उमेद्वारी दिएका शुभद्रा कटवालले पनि एमालेका गाउँपालिकाको उपाध्यक्ष पदका आधिकारीक उमेद्वार अस्मिता थापालाई समर्थन गरेको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरे ।

उता एमालेको तर्फवाट गाउँपालिकाको अध्यक्ष पदमा उमेद्वारी दिएका मिलन विष्टलाई प्रहरीले पक्राउ पूर्जि जारी गरेको छ । जिल्लाका अन्य केहि स्थानीय तहमा गठबन्धका विच तालमेल गर्दै उमेद्वारी दिएको भएपनि लिखुमा गठबन्धनका बिच तालमेल हुन सकेन । लिुखमा गठबन्धन दलका नेपाली कांग्रेसका अशोक कुमार कार्की, नेकपा माओवादी केन्द्रका एकिन्द्र राज कटवाल सुदिप, नेकपा एकिकृत समाजवादीका नेत्र प्रसाद भट्टराई चुनावी प्रतिष्पर्धामा छन् ।

यसै सन्दर्भमा लिखु गाउँपालिकामा स्थानीय तहको निर्वाचन २०७४ मा कसको अबस्था के थियो त भन्ने बारेमा तथ्यांक प्रस्तुत गरिएको छ ।

लिखु गाउँपालिका

नेकपा एमाले ओखलढुङ्गा जिल्ला कै गढ मानिएको लिखु गाउँपालिकाको अध्यक्ष पदमा २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेका गोविन्द बहादुर पौडेल निर्वाचित भएका थिए । पौडेलले नेपाली कांग्रेसका अशोक कुमार कार्कीलाई मात्र ७५ मतको फरकमा पछि पारेका थिए । विजी बनेका एमालेका पौडेलले ३ हजार १०  मत तथा कांग्रेसका कार्कीले २ हजार ९३५ मत पाएका थिए । त्यस्तै त्यहाँ माओवादी केन्द्रका उमेद्वार खड्ग योगी अनिलले १ हजार १८० मत पाएका थिए ।

उपाध्यक्ष पदमा पनि एमालेका शान्ता ढुङ्गेल निर्वाचित भएकी थिईन् । ढुङ्गेलले आफ्नो मुख्य प्रतिद्वन्द्वी कांग्रेसका मन्दिरा दाहाललाई ६७२ मतले पछि पारेकी थिईन् । निर्वाचित दाहालले ३ हजार ११० तथा कांग्रेसकी दाहालले २ हजार ४३८ मत पाएकी थिईन् । त्यहाँ माओवादी केन्द्रकी दुर्गा कुमारी पौडेल सुवेदीले १ हजार ४६२ मत पाएकी थिईन् ।

वडा नं. १ सिंहदेवीमा कांग्रेसका कुमार सुवेदी एमालेका हरि बहादुर खड्कालाई १०२ मतले पछि पार्दै वड अध्यक्ष पदमा निर्वाचित भए । कांग्रेसका सुवेदीले २४५ मत पाएका थिए भने एमालेका खड्काले १४३ मत तथा माओवादी केन्द्रका उमेद्वार अनिल कार्कीले १०५ मत पाएका थिए ।

त्यस्तै वडा नं. २ को सिंहदेवीमा एमालेका रामहरि बुढाथोकी निर्वाचित भए । बुढाथोकीले माओवादी केन्द्रका उमेद्वार पूर्ण बहादुर खड्का पुजनलाई १८३ मतले पछि पार्दै विजयी बनेका थिए । विजयी भएका बुढाथोकीले ३६९ मत तथा माओवादी केद्रका खड्काले १८६ मत पाएका थिए । त्यहाँ कांग्रेसका जगत बहादुर बुढाथोकीले ११२ मत पाएका थिए ।

वडा नं. ३ नर्मदेश्वरको चुनावी रौनक फरक भयो । नर्मदेश्वरमा वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका गोपाल खड्काले ४१९ मतका साथ विजयी बने । खड्काले आफ्नो मुख्य प्रतिष्पर्धी एमालेका शंकर प्रसाद ढुङ्गेललाई ३२ मतले पछि पारे । वडा सदस्यहरु भने सबै एमालेवाट निर्वाचित भए । खड्काका मुख्य प्रतिष्पर्धी एमालेका ढुङ्गेलले ३८७ मत मात्र प्राप्त गरे । माओवादी केन्द्रका भिम बहादुर श्रेष्ठले २८ मत मात्र पाए ।

वडा नं. ४ यसम मा कांग्रेसका घन बहादुर कार्की निर्वाचित बने । कार्कीले आफ्नो मुख्य प्रतिष्पर्धी एमालेका राम कुमार बस्नेतलाई १७७ मतले उछिने । विजयी बनेका कार्कीले ३८६ मत पाए भने एमालेका बस्नेतले २०९ मत मात्र पाए । त्यहाँ माओवादी केन्द्रका एकिन्द्रराज कटवालले ८४ मत पाए ।

गाउँपालिकाको वडा नं. ५ यसममा पनि कांग्रेसको तर्फवाट गोपाल बहादुर खत्री निर्वाचित भए । खत्रीले आफ्नो मुख्य प्रतिष्पर्धी एमालेका कुमार कटवाललाई ७९ मतले पछि पारे । विजयी बनेका कांग्रेसका खत्रीले ३५९ मत पाएका थिए भने एमालेका कटवालले २८० मत पाएका थिए । त्यस्तै माओवादी केन्द्रका उमेद्वार तिलक सुनुवारले ३९ मत पाएका थिए ।

वडा नं. ६ गाम्नाङटारको खाल्डे मा भने माओवादी केन्द्रका टिका बहादुर क्याप्छाकी मगर ३०८ मत सहित विजयी बने । मगरले आफ्ना मुख्य प्रतिद्वन्द्वी एमालेका राम प्रसाद भट्टराईलाई ३४ मतले पछि पारे । एमालेका भट्टराईले २७४ मत पाएका थिए भने कांग्रेसका गोपाल प्रसाद भट्टराईले १०२ मत पाएका थिए ।

पालिकाको वडा नं. ७ गाम्नाङटारमा एमालेका बेद कुमार कार्की विजयी बने । विजयी बनेका बार्कीले ३३३ मत पाएका थिए । त्यहाँ कांग्रेसका उमेद्वार महेन्द्र बहादुर खत्रीले २४५ तथा माओवादी केन्द्रका उमेद्वार चित्र बहादुर थापा क्षत्रीले १०५ मत पाएका थिए ।

वडा नं. ८ टारकेराबारीमा एमालेका विशाल कुमार पौडेल ६६३ मतका साथ विजयी बने । उनेले आफ्नो प्रतिष्पर्धी कांग्रेसका पुरुषोत्तम पौडेललाई २१५ मतान्तरमा पछि पारे । त्यहाँ माओवादी केन्द्रले एमालेलाई समर्थन गरेको थियो । त्यहाँ कांग्रेसका उमेद्वार पौडेलले ४४८ मत प्राप्त गरेको थिए ।

यसैगरि वडा नं. ९ पोकलीमा एमालेका सुकविर तामाङ ४५६ मतका साथ विजयी बने । पोकलीमा माओवादी केन्द्रका केशवहरि ढुङ्गेलले ३६८ तथा कांग्रेसका पशुपती सुनुवारले ३०७ मत पाएका थिए । ओखलढुङ्गाको पोकलीलाई तत्कालीन माओवादी केन्द्रको उद्गम स्थलको रुपमा समेत लिईन्छ ।

यसरी लिखु गाउँपालिकाको २०७४ को स्थानीय तहको नतिजालाई विश्लेषण गर्दै २०७९ लाई हेर्दा यसपटक केहि वडाहरुमा पार्टीको गढ भत्कने देखिन्छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा यसपटक पनि नेकपा एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसका विचमा प्रतिष्पर्धा हुने देखिएको छ । लिखुमा यसपटक पनि आफ्नो गढलाई कायम गर्न पालिकाको दुवै पदमा निर्वाचित हुने दाउमा एमाले देखिन्छ भने एमालेसँग एकिकृत समाजवादी वाहिरीएर उसको भोट घटेको मौका छोपेर पालिकामा नयाँ किर्तिमान कायम गर्दै सोचमा नेपाली कांग्रेस रहेको देखिन्छ ।

अध्यक्ष पदमा कांग्रेसका राजन सुवेदीले बागी उमेद्वारी दिएपछि केहि आत्तिएको कांग्रेस अहिल् आफ्नो समर्थ कांग्रेसका आधिकारीक उमेद्वार कार्कीलाई रहेको भनेर उमेदवारी छाडेपछि पालिका जित्नेमा कांग्रेस ढुक्क छ । उता माओवादी केन्द्र पनि आफ्नो भोट रक्षा गर्दै कांग्रेस र एमालेको भोट तानेर जित्ने दाउमा देखिन्छ । एकिकृत समाजवादी भने रक्षात्मक रुपमा आफ्नो पार्टीलाई स्थापित गर्नका लागि मात्रै भएपनि भोट ल्याएर शक्ति देखाउने सोचमा रहेको देखिन्छ ।