नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

ओखलढुङ्गामा माओवादी र कांग्रेस विच भागवण्डा, अरुदल वाईपास

ओखलढुङ्गान्युज । ७ बैशाख, ओखलढुङ्गा । नजिकिदै गरेको स्थानीय तहको निर्वाचनलाई लिएर ओखलढुङ्गामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका विचमा भागवण्डामा सहमती भएको छ । केन्द्र देखी पाँच दलिय गठवन्धन भनिएपनि ओखलढुङ्गामा भने अन्य दललाई वाईपास गरेर दुईपार्टी विचमा मात्र भागवण्डा भएको हो ।

मंगलाबार भएको भागवण्डाको सहमती अनुसार ओखलढुङ्गाका ८ स्थानीय तह मध्ये चिशंखुगढीमा मात्र पालिका अध्यक्ष लिन माओवादी केन्द्र राजी भएको छ । लिखु गाउँपालिका बाहेकका अन्य सिद्धिचरण नगरपालिका, चम्पादेवी गाउँपालिका र मोलुङ गाउँपालिकामा पनि उपप्रमुख र उपाध्यक्ष पद माओवादी केन्द्रको भागमा परेको छ । यी तिनओटै पालिकाको अध्यक्ष पद नेपाली कांग्रेसको भागमा परेको छ ।

त्यस्तै जिल्लाको खिजिदेम्बा गाउँपालिका, सुनकोशी गाउँपालिका र मानेभञ्ज्याङ्ग गाउँपालिकामा भने दुवै पद नेपाली कांग्रेसलाई दिन माओवादी केन्द्र राजी भएको छ । लिखु गाउँपालिकामा भने माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले दावी कायम राखेपछि निर्णय गर्न केन्द्रलाई दिने गरि प्रदेश र संघमा लेखी पठाउने सहमती भएको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बाबुराम गौतमले बताए ।

माओवादी नेता गौतमका अनुसार अहिले यो भागवण्डामा सहमत दुईदल विच मात्र भएको हो । गठबन्धन सहमतीमा नेकपा एकिकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी आएमा उनीहरुलाई १÷१ स्थानमा उपप्रमुख पद दिन सकिने समेत निर्णय भएको गौतमले बताए । दुवै पार्टी गठवन्धनमा आए एकिकृत समाजवादीलाई माओवादी केन्द्रको भागको र जनता समाजवादीलाई नेपाली कांग्रेसको भागको १ उपप्रमुख छाड्न सकिने सममती भएको छ ।

उता नेकपा (एकिकृत समाजवादी)का केन्द्रिय सदस्य नेत्र प्रसाद भट्टराईले भने दुईदलले गरेको निर्णयमा आफ्नो पार्टीको सहमती नभएको बताए । अहिलेको आवश्यकता देशव्यापी रुपमा गठवन्धनको भएपनि ओखलढुङ्गामा गठवन्धन नभएर केहि असर नहुने केन्द्रिय सदस्य भट्टराईले बताए । भट्टराईका अनुसार ओखलढुङ्गामा गठबन्धन गर्ने हो भने एकिकृत समाजवादीको दावी सिद्धिचरण नगरपालिकाको र लिखु गाउँपालिकाको प्रमुख तथा अन्य एक स्थानमा उपप्रमुखको रहेको छ । यदि गठवन्धन भएन भने पनि एकिकृत समाजवादीले अधिकांस स्थानीय तहका प्रमुख÷उपप्रमुख र ५० भन्दा वढि वडामा वडा अध्यक्षमा उम्मेदवारी उठाउने तयारी गरेको छ ।

उता जनता समाजवादी पार्टीले पनि दुई पार्टीका विचमा भएको सहमतीलाई अस्विकार गरेको छ । आफूहरुको दावीका विषयमा दुई पार्टीले बेवास्ता गरेपछि ओखलढुङ्गामा गठवन्धनवाट वाहिरिने सम्भावना बढेको जनता समाजवादी पार्टीका किरात राष्ट्रिय समितिका कोषाध्यक्ष नेत्र बहादुर नेम्वाङले बताए । नेम्वाङका अनुसार जनता समाजवादी पार्टी ओखलढुङ्गामा एक्लै भएपनि चुनावी मैदानमा जाने सम्भावना सँगै तयारी थालेको छ । तर पार्टीले त्यसको बारेमा आधिकारीक निर्णय भने हुन बाँकी रहेको छ । 

जिल्ला नेतृत्वले भागवण्डामा सहमती गरेपनि माओवादी नेता कार्यकर्ताहरुले असन्तुष्टि ब्यक्त गर्न थालेका छन् । गठवन्धन गर्दै स्थानीय तहको भागवण्डा गर्न बटमलाईन सहित निर्णय गर्न बार्ता समितिमा पठाएकोमा वार्ता समितिका प्रतिनिधीले जिल्ला समितिको निर्णय भन्दा बाहिर गएर निर्णय गरेको उनीहरुको आरोप छ । जुन गलत भएकोले आफूहरुको विमती रहेको माओवादी केन्द्रका एक जिम्मेवार नेताले बताए । जिल्लामा सहमती बनेपनि स्थानीय स्तरमा भने सहमती कार्यान्वयन नहुने खतरा बढेको उनको भनाई छ ।